
लोक गीतमा नयाँ रेकर्ड नै कायम गरेको बोल माया गीतको सिक्वयलको रुपमा यस वर्ष बोल माया टिमले सार्वजनिक गरेको ‘गलबन्दी’ गीत २४ घण्टा पनि नबित्दै युटुयुवको ट्रेण्डिङ्गमा प्रवेश परेको थियो । उक्त गित एक हप्ता भन्दा बढि समयसम्म ट्रेण्डिंग १ मै रह्यो । हाल सम्म गलबन्दि गित ट्रेण्डिङ्ग २ मा रहेको छ । गलबन्दी गीतमा बोल माया भन्दा अगाडीको दृश्य देखाएको छ । बोल माया गीतकै टिम रहेको सो गीतमा मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाई विषय बनाइएको छ । गीतमा शब्द संगित र स्वर गायक प्रकाश सपुतको रहेको छभने उनलाई स्वरमा गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् ।
मोडल अञ्जली अधिकारीले अभियन गरेको भिडियोको छायांकन करण चैसिर र निर्देशन प्रकाश र सहनिर्देशन उनका भाई देबेन्द्र बब्लुले गरेका छन् । गीत गल्बन्दीलाइ रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गरेको छ । गीतले अन्त्यमा बोल माया भाग २ को केहि कथा दिदै सबैलाई प्रतीक्षा गर्न पनि भनिएको छ ।
गीतले जति चर्चा पायो, त्यत्तिकैको चर्चा अहिले मोडल अंजली अधिकारीको भइरहेको छ । उनको अभिनय र सुन्दरताको चर्चा समाजिक संजालमा चुलिएको छ । अधिकारी बर्दियाको मैनापोखरीमा रहेको स्कुलमा पढिरहेकी थिइन् । त्यो समय बर्दिया महोत्सव आयोजना भयो । त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अन्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् ।
बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छु ।’ बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए ।
एसएलसीपछि भागेर काठमाडौँ आएकि अंजनालाई स्कुल पढ्दा शिक्षक र साथीहरुले नृत्यको प्रशंसा गर्थे तर, परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो’, उनी सम्झन्छिन् । २०७२ सालमा एसएलसी परिक्षा दिएपछि अन्जली भागेर काठमाडौं आइन् । बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन्, ‘हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो ।’
भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् । दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर, दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोडलिङ गर्ने अवसर दिए ।
बद्री र मिरा गिरीको स्वरमा रहेको ‘खर बारीमा’ बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीतबाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो । पहिलो भिडियोमा आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् । ‘स्टेज र क्यामेरामा नाच्च फरक रहेछ’, अन्जली भन्छिन्, ‘आफ्नो कमजोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ ।’
बद्री पंगेनीले लगातार तिन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो । पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’मा अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थाले ।
अञ्जलीले काम गरेको करिब २०० भन्दा बढि भिडियोमध्ये आधामा प्रकाश सपुत पनि थिए । अन्जली जस्तै भिडियो मोडलिङमा जम्न खोजिरहेका प्रकाशले आफैं गीत लेखेर भिडियोका लागि मोडलहरुलाई अफर गरे तर, धेरैले अस्विकार गरे ।
त्यसपछि उनले अञ्जलीलाई सम्झिए । त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबाआमासहित सबैले मन पराए । गीत मार्मिक थियो । त्योबेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सकारिसकेका थिए । उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् । गीतमा डुबेर रोएपछि उनलाई लाग्यो, म यो गीत गर्न सक्छु । त्यसपछि उनले प्रकाशलाई फोन गरिन्, ‘दाइ, म यो भिडियो गर्छु ।’
सारंगी रेटेर गीत गाएको सुटिङ सुरु हुँदै थियो । गाउँका धेरै मान्छे रमिता हेरिरहेका थिए । गीत बज्न थालेपछि सबैको आखाँ रसाए । अञ्जली र प्रकाशको पालोमा रोमान्टिक सिनहरु खिचियो । त्यसपछि अँध्यारोमा लिप्सिङसहित थिम खिच्न पर्थ्यो । अन्जलीमा गर्न सक्छु, सक्दिन भन्ने डर बढ्यो ।
लिप्सिङको सिन खिच्न सुरु भयो । जब गीत बज्यो अञ्जलीमा भूत चडेजस्तो भयो । उनले साँच्चीकै रुदै सिन दिइन्, जुन भिडियोमा आवश्यक थियो । साँच्चै रोएपनि मिलेको छ वा छैन् भन्ने डर थियो । सुटिङ सकियो, सबैको मुहारमा चमक थियो । तर, अन्जली खुसी हुन सकिरहेकी थिइनन् । जब भिडियो हेरिन् आफ्नो काम राम्रो पाइन् ।
‘बोल माया’ को भिडियो सार्वजनिक हुन ६ महिना लाग्यो । तर, सम्पादनपछि तयार भएको गीत सार्वजनिक कार्यक्रममा कसैको पनि आँखा ओभानो रहेन । युट्युबमा भिडियो आएपछि तुरुन्तै ट्रेण्डिङमा र्पयो । धेरैले गीतमा आफ्नो कथाब्यथा पाए । सामाजिक सञ्जालमा गीत भाइरल भयो ।
अन्जलीलाई गीत सफल हुन्छ भन्ने थियो तर, यो स्तरको सफलता हात लाग्ला भन्ने अनुमान समेत थिएन । बोल माया बोलको गीतले पाएको सफलतासँगै अञ्जलीको करियरले पनि ठूलो फड्का र्मायो । दर्शकस्रोतमाझ सामान्य चिनिएकी उनी गीतसँगै सुपर हिट भइन् । उनलाई एकै दिनमा पाँचवटासम्म गीतको अफर आउन थाल्यो । मेला(महोत्सव तथा विदेशमा हुने शोहरुमा उपस्थिति बाक्लिएको छ ।
‘मेहनतको मिठो प्रतिफल पाएँ, पाइरहेको छु’, उनी भन्छिन्, ‘यो गीतपछि आफैंलाई पहिलेभन्दा पक्का भएको महशुस गर्न थालें ।’
धेरै अफर आएपछि अञ्चजी भने चुजी बनेकी छन्, आफूलाई राम्रो लागेको गीतमा मात्र अभिनय गर्न थालेकी छन् । विगतमा जस्तो ‘पैसाको लागि’ जस्तो पनि गीतमा अभिनय गर्न छाडेकी छन् । आगामी तिजमा पनि उनी पोहोर जस्तो दैनिक पाँचवटा गीतमा नाच्ने छैनन् । अब अलि फरक र नयाँपन देखिने काम गर्न चाहेको बताउँदै अञ्जली भन्छिन्, ‘ताकी स्रोतदर्शकले पनि सम्झिरहुन् ।’
एउटा समय थियो, नाच्छु भन्दा अञ्जलीले बाबाको पिटाई खानुपर्थ्यो । तर, अहिले परिस्थिति फेरिएको छ । उनका बाबा अहिले अहिले सबैभन्दा ठूलो समर्थक बनेका छन् । अञ्जलीले अभिनय गरेको भिडियो छोरीले भन्दा पहिला सामाजिक सञ्जालमा शेयर गरिदिन्छन् । गाउँटोलमा छोरीको प्रशंसा गर्दा बाबाको नाम फुलिएको छ भन्छिन्, अञ्जली । अंजलिको प्रस्तुतिलाई दर्शकहरुले निकै नै मनपराइरहेका छन् । उनको सुन्दरता र प्रस्तुतिले सबैको मन जित्न सफल भएको छ ।