काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल शुरु भएको छ । उक्त विधेयकअन्र्तगत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो ।

बैठकमा भाग लिँदै सांसद हृदयेश त्रिपाठीले विकास खर्चलाई सही ढङ्गले अगाडि बढाउनुपर्नेमा विश्लेषण नगरीकन विकास बजेट ल्याइएको विचार व्यक्त गर्दै कृषकलार्ई दिने भनिएको अनुदान तिनमा नपुगेको उल्लेख गर्नुभयो । सांसद प्रमोद साहले बजेट प्रदेश नं २ मा कम छुट्याइएको हुँदा मधेशलाई हेर्ने दृष्टिकोण र सोच परिर्वतन गर्न जरुरी छ भन्नुभयो । सांसद प्रदीप यादवले प्रादेशिक शहरी विकास र खेलकूदको विकासमा बजेटले पर्याप्त ध्यान नदिएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

सांसद डा डिला सङ्ग्रौलाले वितरणमुखी बजेटले युवालाई सीपमूलक र आयमूलक कार्यक्रममा ध्यान नदिएको टिप्पणी गर्दै युवा स्वरोजगार कार्यक्रमलाई सातै प्रदेशमा विस्तार गरी युवा पलायन रोक्नुपर्ने बताउनुभयो । सांसद झपट रावलले सरकारले तत्काल सुदूरपश्चिम क्षेत्रमा हावाहुरीका कारण जनधनको क्षति भएको प्रति ध्यान नदिएको आरोप लगाउँदै पीडितलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न माग गर्नुभयो ।

सांसद पदमनारायण चौधरीले सिरहाको लहान बजार पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा नराखेको भनी गुनासो गर्नुभयो । सांसद टेकबहादुर बस्नेतले बजेटमार्फत स्थानीयस्तरमा पठाइएका फुटकर योजना सङ्घीयताको विरोधमा भएको भन्दै यसले अपेक्षित परिणाम नदिने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले बजेटमा युवालाई रोजगारी दिने नयाँ कार्यक्रम नभएको टिप्पणी गर्दै वितरणमुखी भएकाले यसले समृद्धि दिन नसक्ने जिकिर गर्नुभयो । सांसद सत्यनारायण शर्मा खनालले बजेटमा खेलकूद र शहरको विकासका लागि उल्लेखनीय योजनाबद्ध कार्यक्रम नभएको बताउँदै रोजगारीका लागि विदेश पलायन भइरहेका युवाका लागि रोजगारी कार्यक्रम खै भनी प्रश्न गर्नुभयो ।

सांसद देवेन्द्रराज कँडेल र गोपालबहादुर बमले बजेटमा खेल विकास र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम नभएको भनी टिप्पणी गर्नुभयो । सांसद महेश्वरजङ्ग गहतराजले पश्चिममा क्रिकेटका लागि बजेट विनियोजन भएकामा अर्थमन्त्रीलाई धन्यवाद दिँदै बाढीपडितको आवास सुविधाका लागि अर्थमन्त्रीको ध्यान नपुगेको बताउनुभयो । सांसद कृष्णप्रसाद दाहालले काठमाडौँ मात्र शहर भन्ने मानसिकता अझै कायम रहेको उल्लेख गर्दै काठमाडौँ बाहिरका अन्य शहरको विकास समयमै गर्न सकिएन भने त्यहाँका जनता निराश हुने बताउनुभयो ।

सांसद कृष्णभक्त पोखरेलले एकीकृत र व्यवस्थित बसोबासका लागि जनता आवासजस्ता कार्यक्रम स्वागतयोग्य भए पनि पर्याप्त नभएको बताउनुभयो । सांसद यज्ञबहादुर बोगटीले सन्तुलित विकासका लागि बजेट सन्तुलित नभएको आरोप लगाउँदै अछाम जिल्लामा खेदकूद विकासका लागि कुनै बजेट नभएको भनी अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस !