सर्लाही-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मधेशमा विपन्न परिवारका लागि दाईजो प्रथा बोझ भएको बताएका छन् । हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहास्थित सार्वजनिक माध्यमिक विद्यालयमा आज आयोजना गरिएको ईद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले दाइजो प्रथा मधेशका लागि अभिशाप भएको बताए ।
उनले दाइजो प्रथालाई हटाई शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे । उनले दाइजो प्रथा हटाउन सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रुपमा लाग्नुपर्ने धारणा राखे । “दाईजो प्रथा मधेसका विपन्न समुदायको बोझका रुपमा रहेको छ, दाइजोकै कारण अहिले छोरीहरुलाई जन्मै नदिई गर्भमै मार्ने पनि गरिएको छ, दाइजोमा लाग्ने पैसा छोरीको शिक्षामा लगायौँ भने उनको जीवन सुन्दर बन्न सक्छ”, उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जुन जातमा बढी दाइजो प्रथा छ, त्यसको पहिचान गरी सबै मिलेर हटाउनुपर्नेमा जोड दिए । नेता नेपालले देशलाई समृद्ध बनाउन युवाले आफ्नै देशमा मिहिनेत गर्नुपर्ने बताए । वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँठाउँमा मेहिनत गरेर व्यावसायिक खेतीमा लाग्नुपर्ने उनले सुझाए ।