
काठमाडौं–केही दिनदेखिको अविरल वर्षाका कारण काठमाडौंमा तरकारीको भाउ बढेको छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण तरकारीको भाउ बढेको हो । भारतबाट आउने तरकारीमा पनि विषादी परीक्षणको विषयमा तनाव भएपछि स्थानीय तरकारी मात्र बजारमा आपूर्ति हुँदा भाउ बढेको कालीमाटी स्थित तरकारीका बजारका व्यापारी बताउँछन् । वर्षातपछि बजारमा पहिलेजति धेरै तरकारी नआएको व्यापारी सूर्य लामाले बताए ।
वर्षाअघि ५० रुपैयाँ प्रतिकिलो रहेको मूला ७० रुपैयाँ बढेर १ सय २० रुपैयाँ पुगेको छ । ६० सय रुपैयाँ प्रतिकेजी रहेको काउली ४० रुपैयाँ बढेर अहिले १ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै पहिलो ३० रुपैयाँ प्रतिकेजी रहेको तितेकरेलाको भाउ किलोमै ४० रुपैयाँ बढेर ७० रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै ५० रुपैयाँ रहेको भन्टा ८० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
४० रुपैयाँ प्रतिकिलो रहेको घिरौँला ९० रुपैयाँ पुगेको छ भने ५० रुपैयाँ प्रतिकिलो रहेको भिडेखुर्सानी ९० रुपैयाँ पुगेको छ । ७० देखि ८० रुपैँया प्रतिकिलो रहेको काँक्रो ४० रुपैयाँ बढेर १ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । ५० रुपैयाँ प्रतिकिलो रहेको बन्दागोपी ३० रुपैयाँ बढेर ८० रुपैयाँ पुगेको छ ।
यस्तै ८० रुपैयाँ प्रतिकिलो रहेको बोडी १ सय २० रुपैँया प्रतिकिलो पुगेको छ । खुसार्नीको भाउ पनि दोब्बरले बृद्धि भएको छ । होलसेलमा ५० रुपैयाँ प्रतिकिलो रहेको खुर्सानीको भाउ बढेर १ सय रुपैयाँ पुगेको छ । २ सय ५० रुपैयाँ थोक मूल्य रहेको अदुवा २ सय ८० रुपैयाँ पुगेको छ । यता ब्रोकाउलीको भने भाउ घटेको तरकारी ब्यापारी पवित्रा सापकोटाले बताइन् । उनका अनुसार केही दिन पहिले ५ सय रुपैयाँसम्म प्रतिकिलो विक्री भएको ब्रोकाउली अहिले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरिरहेको बताइन् । यता आलू तथा प्याजको भाउमा भने घटबढ नभएको व्यापारीहरुले बताए ।