टंक कुँवर
धनगढी । गोदावरी नगरपालिकाको न्यायिक समितिले उजुरी परेका ७१ मुद्धामध्ये ६१ मुद्धालाई मिलापत्र गरेको छ । समितिले आर्थिक वर्ष २०७५।०७६ मा परेका सो मुद्धामध्ये ६१ मुद्धालाई मिलापत्र गरेको हो ।
जग्गा सम्बन्धि परेका उजुरी ३३ घरेलु हिंसाका १९, लेनदेन खोजतलास सम्बन्धि सिफारिस,सम्बन्ध बिच्छेद, बाटो ,गाली गलौज र अन्य गरी १८ मुद्धाहरु न्यायिक समितिमा दर्ता भएका गोदावरी नगरपालिकाका उप प्रमुख एवं न्यायिक समिति संयोजक रत्ना कडायतले जानकारी दिइन् । उनले परेका उजुरीका करिब ६१मुद्धाको मिलापत्र गरिसकेका छौँ र अन्य ९ वटा मुद्धाको मिलापत्रका लागि प्रकृया अघि बढाएको बताइन ।
त्यसैगरी वडा नं. १ र ५ का लागि साविक गेटा वडा नं. २,३,४ का लागि मालाखेती,वडा नं. ६,७,८ का लागि श्रीपुर,वडा नं. ९ का लागि बेलादेवीपुर र वडा नं. १०,११,१२ का लागि साविक गोदावरीको ओलानी क्षेत्रमा मिलापत्र केन्द्र स्थापना गरी कामलाई द्रुतगतिमा अघि बढाएको उनले बताइन ।
बढी जसो घरेलु हिंसा जग्गा विवाद सम्वन्ध विच्छेद जस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेको वताउदै उनले भनिन उजुरी माथी पटक पटक म्याद थपाएर पीडित पक्षलाई वोलाएर नै मिलापत्र गर्ने गरिएको छ । कतिपय उजुरी हाम्रो अधिकार क्षेत्र भित्र पर्दैन तर पनि त्यस्ता उजुरी लिएर पीडित पक्ष आउने गरेको र दुईटै पक्ष मिल्न खोजे मिलापत्र गर्ने गरेको उनको भनाई छ ।