काठमाडौं । राजाको पालादेखि शुरु भएको अनेकन चलखेल राजा फालिएर लोकतन्त्र बहाली भएपछि त सम्भव भयो । तर, ‘राष्ट्रपतिको सवारी’ का नाममा आएको चिजलाई स्वयं सम्माननीय राष्ट्रपतिले प्रयोगमा ल्याउन आनाकानी देखाउनुभएको छ ।

राजाको पालादेखि उही दलाल रोहिणी थपलिया आरजे हण्ड्रेड हुँदै इटालियन अगुस्ता हेलिकोप्टरसम्म भिडाउनमा लागिपरे । सम्धी लोकमान अख्तियार प्रमुख हुँदा क्षेत्राधिकार मिच्दै सेनापतिलाई दुईचोटीसम्म हाजिर गराएर सो हेलिकोप्टर किनाउन लगाइछाडे । दुईवटा हेलिकोप्टर आयो । तर, राष्ट्रपति विद्यादेवी भण्डारी अझै उक्त हेलिकोप्टर चढ्न मानिरहनुभएको छैन ।

बरु भीभीआईपीको ‘सवारी’ का नाममा घण्टौँसम्म स्थल र हवाईमार्ग प्रभावित हुने सिलसिलालाई न्युन गर्दै नयाँ विधि अपनाउन थाल्नुभएको छ । यदि राष्ट्रपतिले चाहने हो भने नयाँ अगुस्ता हेलिकोप्टर उहाँको सरकारी निवाससँगैको प्रहरी तालिम केन्द्र मैदानमा अवतरण हुन सम्भव छ । तर, उहाँले त्यसो पनि गर्नुभएन । गाडीबाट दुई किलोमीटरको दूरी छिचोल्दै नारायणहिटीस्थित नेपाली सेनाको उपत्यका पृतना जाने र त्यहाँ विमानस्थलमा राखिएको सेनाको सामान बोक्ने पुरानै एमआई १७ हेलिकोप्टर आएर उडान हुने गरेको छ । राष्ट्रपतिले प्रयोग गर्न अस्वीकार गर्दै आउनुभएको अगुस्तामा भने प्रधानमन्त्री र गृहमन्त्रीले उडान भरिसक्नुभएको बताइन्छ ।

सम्माननीय प्रधानमन्त्रीले मृगौलासम्बन्धी समस्याबारे कम्तिमा पनि तीन–तीन महिनामा फलोअप गर्नुपर्ने, तर नौ महिनापछि मात्रै फुर्सद मिलेको छ । तर, मृगौलाले गर्ने कामको रफ्तार भने सन्तोषजनक पाइएको छ ।

शुक्रबार पहिला शिक्षण अस्पताल र पछि छाउनीस्थित सैनिक अस्पतालमा आफ्नो मृगौलासम्बन्धी समस्याबारे जाँच गराउन प्रधानमन्त्री केपी ओली पुग्नुभयो । त्यसक्रममा बायोप्सी गर्नुअघि क्रेटिनिनको दर पोइन्ट नाइन देखियो । यो भनेको सामान्य अवस्था हो । त्यसदिन सैनिक अस्पतालमा गरिएको बायोप्सीको रिपोर्ट आउन भने ६ दिन लाग्ने भएको छ ।

त्यही बेला प्रमले भन्नुभयो– यसको रिपोर्ट आउँदै गर्छ एकचोटी म सिंगापुर पुगेर आउँछु । उहाँले आफ्नो स्वास्थ्य परीक्षण सैनिक अस्पतालमा गराए पनि चिकित्सकचाहिँ अन्यत्रका थिए । त्यसदिन मेडिसिटी अस्पतालमा कार्यरत वरिष्ठ रेडियोलोजिष्ट प्रा.डा.रामकुमार घिमिरे, शिक्षणमा कार्यरत प्रमकी निजी चिकित्सक दिव्यासिंह शाह र डा.दिलिप शर्माहरु पुगेका थिए । सैनिक अस्पतालमा उहाँको मृगौलाको नियमित ल्याब परीक्षणसहित युएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !