धादिङबेसी । धादिङबेसीमा १८० औं अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस भव्य रुपमा मनाइएको छ । राष्ट्रिय फोटो पत्रकार समुह, एनएफपीजे नेपाल र नेपाल फोटो पत्रकार संघ धादिङको संयुक्त आयोजनामा धादिङबेसीमा अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस मनाइएको हो ।

नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले फोटो खिचेर उद्घाटन गरिएको उक्त दिवसमा राष्ट्रिय फोटो पत्रकारहरु, काठमाडौ, मकवानपुर, नुवाकोट धादिङका फोटो पत्रकारहरुको सहभागिता रहेको थियो । फोटोग्राफी दिवसको अवसरमा धादिङबेसी पुछार बजारबाट सुरुभएको प्रभात फेरि कार्यक्रम बीचबजार स्थित आर.के. गेष्ट हाउसमा पुगेर समापन गरिएको थियो । नेपाल फोटो पत्रकार संघ धादिङको अध्यक्ष नारायण सिलवालको सभापतित्वमा भएको अन्तर्राष्ट्रिय फोटोग्राफी दिवस विशेष कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख ढुङ्गानाले फोटो पत्रकारहरु समाजका परिवर्तनका संवाहक भएको बताएका थिए ।

हरेक मोर्चाको अग्रभागमा देखा पर्ने फोटो पत्रकारहरुलाई अझै राज्यले बुझ्न नसकेको प्रति चिन्ता समेत व्यक्त गरेका थिए ।
यस्तै नेकपा नेता रामबहादुर भण्डारीले फोटो पत्रकारहरुले अझै ढुक्क सँग फोटो खिच्ने वातावरण नभएको दावी गरेका थिए । हरेक घटना र अनियमिताको सबुद प्रमाण खिच्ने फोटो पत्रकारहरुले सहज ढंगले फोटो खिच्न पाउनु पर्नेमा समेत जोड दिएका थिए । यस्तै राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकारले फोटो पत्रकारिता गर्न सहज र सजिलो नभएको तर पछिल्लो समय बढेर गएको फोटो पत्रकारिताको आकर्षण प्रति प्रशंसा गर्दै अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहका महासचिव प्रदिपराज वन्त, प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेय, प्रहरी प्रमुख राजकुमार वैदवार, पत्रकार महासंघ ३ नम्बर प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, पत्रकार महासंघ केन्द्रीय सदस्य हरिहर सिंह राठौंर, पत्रकार महासंघ धादिङ अध्यक्ष नवराज छत्कुली नीलकण्ठ क्याम्पसका प्राध्यापक नविनबन्धु पहाडी, एड्भान्स एकेडेमीका एशोसिएट प्रिन्सिपल भिम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नीलकण्ठ माविमा पत्रकारिता पढ्दै गरेका विद्यार्थी, एड्भान्स एकेडेमीमा कानुन पढ्दै गरेका कक्षा १२ का विद्यार्थी जिल्लास्थित पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्थलमा धादिङ जिल्लाका ३०० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको थियो । भने सोही अवसरमा धादिङ जिल्ला नेपाल फोटोपत्रका सघको दोस्रो जिल्ला अधिवेशन र राष्ट्रिय फोटोपत्रकार समुह एनएफपीजे नेपालको ३ नंं प्रदेश कमिटिको पनि निर्माण पश्चात घोषणा गरिएको थियो । राष्ट्रिय फोटो पत्रकार समुह ३ नम्बर प्रदेशको अध्यक्षमा नारायण सिलवाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस !