काठमाडौँ– उद्योग विभागले २०७५ साल असार ३१ गते ‘दर्ता खारेज’ गरेको एउटा निर्णयको सक्कल फाइल गायव प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । चितवनस्थित याक ब्रिविङ कम्पनी प्रालिले बियर उद्योग सञ्चालनका लागि पाएको अनुमति अनुसार तोकिएको समयमा उद्योग सञ्चालन नगरेको तथा म्याद थप र स्वीकृतिका लागि दिएको निवेदनमा उद्योग विभागको बैठकले २०७५ साल असार ३१ गते उक्त उद्योगको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको भन्दै याकले दिएको म्याद थपको निवेदनमा कुनै करावाही गर्न नपर्ने निर्णय गरेको थियो ।

विभागले गरेको सो निर्णयको सक्कलप्रति ‘गायव’ भएपछि यो विषय अदालत र सीआईबीसम्म पुगेको हो । उद्योग सञ्चालक पक्षले म्याद थप गर्न दिएको निवेदनमा विभागले स्वीकृति नदिएको भन्दै अदालत गएको हो भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले गृहमन्त्रालय हुँदै सीआईबीलाई छानिवनका लागि आग्रह गरेको हो । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव स्वयम्ले फाइल हराएको विषयमा गृहमन्त्रालयलाई पत्राचार गर्दै छानविन गर्न माग गरेका हुन् । सोही अनुसार गृहमन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो ।

सीआईबीको उच्च स्रोतले भन्यो, ‘उद्योग विभागको फाइल गायव प्रकरणमा सुक्ष्म अनुसन्धान हुँदैछ । यो भन्दा बढी अहिले भन्न सकिन्न ।’ सिआइवीका प्रवक्ता आभूषण तिमल्सिनाले पनि अनुसन्धान नसकिँदासम्म केही भन्न नसक्ने प्रतिकृया दिए । उनले भने, ‘कतिपय अनुसन्धानका विषयहरुमा पहिला नै बोल्न मिल्दैन, तर उजुरी परेका आधारमा सीआईवीले आफ्नो काम निरन्तर जारी राख्छ ।’ सीआइवी स्रोतका अनुसार तत्कालीन उद्योग विभागका महानिर्देशकले हस्ताक्षर गरेको उक्त फाइल कसरी हरायो ? फाइलको संरक्षण गर्ने जिम्मेवारी क–कसको हो ? त्यसमा कोको संलग्न छन् भन्ने पहिचान गरिसकेपछि अनुसन्धानको एक चरण पूरा हुन्छ र थप प्रकृया अघि बढ्छ ।

राजश्वले माग्यो जवाफ

लामो समय गुपचुपमै रहेको यो विषय जब आन्तरिक राजस्व विभागले २०७६ साल जेठ १० गते उद्योग विभागलाई पत्र काट्यो त्यसपछि बाहिर आएको हो । राजस्वको जेठ ९ गतेको निर्णयअनुसार पत्र संख्या २०७५÷०७६ र ४९२ चलानी नम्बरको पत्रमार्फत उद्योग विभागलाई याक ब्रिविङ कम्पनी प्रालिले उद्योग सञ्चालनको अनुमति पाए–नपाएको तथा त्यस्तो अनुमति हाल कायम रहेन–रहेको खुलाई पठाउन भन्दै पत्र पठाएको थियो ।
यस्तो छ राजश्वले लेखेको पत्र

याकको बाह्रसिंगे उत्पादन

याक ब्रिविङ कम्पनी प्रालीले बाह्रसिंगे बियर उत्पादन गर्दै आएको छ । त्रिपुरेश्वरस्थित विभागको कार्यालयबाट उक्त फायल हराएपछि विभाग र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च तहका कर्मचारीहरुमा हलचल नै मच्चिदै आएको छ ।

‘याक ब्रिविङ कम्पनी प्रालि’ सँग सम्वन्धित उक्त फायल विभागकै केही कर्मचारीको साँठगाँठमा रेकर्डबाट ‘गायव’ पारिएको हो । तर, उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले उक्त फाइल भेटिने दावी गरे । उनले भने, ‘विभागमै कतै होला, भेटिन्छ ।’ महानिर्देशक सिंहले हराएको फाइल खोज्ने काममा कर्मचारीहरु खटाएको प्रतिकृया पनि दिए ।

उता, याक ब्रिविङ कम्पनी प्रालिले दर्ता खारेज नियमसंगत नभएको भन्दै उच्च अदालत पाटनमा रिट दिइसकोको छ । सो रिटमा अदालतले अन्तरिम आदेशमार्फत उद्योगलाई उत्पादनमा बाधा नपार्नु भनेकाले उद्योगले बाह्रसिंगे बियरको उत्पादन जारी राखेको हो । त्यसमा उद्योग विभाग भ्याकेट माग गर्दै उच्च अदालत गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !