
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लण्डन निवासी व्यवसायी संगीता मरहट्टाले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा वीवीसी नेपाली सेवाका पुर्व पत्रकार मरहट्टाले आफ्ना भावी योजना सहित औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।
स्थापनाको डेढ दशक नाघिसकेको र ८० वटा देशमा फैलिसकेको गैरआवासीय नेपाली संघलाई आजको यस अवस्थासम्म ल्याईपुर्याउन महिलाहरुको अत्यन्तै ठुलो योगदान रहेको छ । तर संघमा अझैपनि महिला र दोस्रो पुस्ताको संलग्नता तुलनात्मक हिसाबले कमी नैं देखिएको छ । संघमा महिलाहरुको सशक्त उपस्थितिलाई बढावा दिंदै नेपाल तथा डायस्पोरामा रहेका महिलाहरुको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाहरुको आर्थिक स्वाबलम्बन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत विविध योजनाहरु समेटेर आफु अघि बढ्न लागेको उनले बताईन
मरहट्टाले भनिन्, ”सन्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनए संगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भुमिकालाई कुशलताका साथ निर्वाह गर्न सक्नेमा म अत्यन्तै विश्वस्त छु । ” उनले महिला संयोजकको जिम्मेवारी आफुले पाएमा महिलाहरुसंग रहेको सीप र क्षमतालाई अझै बढी उजागर गर्ने र उनीहरुलाई उद्यमशील बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने कुरामा सहयोग गर्ने लक्ष्य राखेकी छन् ।
गोरखामा जन्मिएर बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहट्टाले आफ्नो लेखनलाई पनि निरन्तरता दिईरहेकी छन् । अहिले पनि नियमित रुपमा राष्ट्रिय मिडियाहरुमा आफ्ना लेखहरु छपाउंदै आएकी छन् ।