नेपाली काँग्रेसको पदाधिकारी बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनको रणनीति तय गरेको छ । शनिबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले एकता र उत्साह साथ चुनावी अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘उपनिर्वाचनको चुनावी तयारीको रणनीति अनुसार शीर्ष नेताहरू सम्बन्धित निर्वाचन क्षेत्र पुग्ने निर्णय भएको छ । एकता र उत्साहका साथ अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने निष्कर्षमा पुगका छौँ,’ उनले भने । शर्माका अनुसार केन्द्रीय नेताहरुको उपस्थितिमा कास्की–२, बाग्लुङ, दाङ र भक्तपुर प्रदेश सभा निर्वाचन क्षेत्रका ठाउँठाउँमा चुनावीसभा गरिने छ।

‘नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले दुईवर्षमा गरेका विकृति र बेथितिका विषयलाई जोडदार ढंगले उठाएर उपनिर्वाचनमा जान्छौँ,’ उनले भने, ‘जसमा भ्रष्टाचार, कुशासन, महँगी र अधिनायकवादको आकांक्षा मुख्य विषयमा बन्नेछन् । हामी यी नै विषयमा केन्द्रित हुन्छौँ ।’

चुनावी तयारीसँगै पार्टीको आन्तरिक गतिविधिबारे पनि छलफल भएको शर्माले जानकारी दिए ।‘उपनिर्वाचनसँगै पार्टीको आन्तरिक संरचनाको सन्दर्भमा केन्द्रीय समितिले निर्धारण गरेको समयभित्र नै सक्ने गरी अगाडि बढेका छौँ,’ उनले भने ।

शर्माका अनुसार राधेश्याम अधिकारी नेतृत्वको पार्टीको केन्द्रीय निर्वाचन समितिसँग पार्टी विधानको धारा ७२ को उपधारा ४ बमोजिम पार्टी संरचना समायोजन गर्न बनेको निर्देशिकाको कार्य प्रगतिबारे जानकारी लिइएको थियो ।

निर्वाचन समितिका अधिवक्ता केशव रिजालसहितको बैठक सहभागिता थियो ।‘उहाँहरुले गाउँ तहको संरचनाबारे ब्रिफिङ गर्नुभएको थियो । जसमा अधिकांश जिल्लामा सकिएको र केही जिल्लामा अन्तिम चरणमा पुगको जानकारी दिनुभयो,’ उनले भने, ‘त्यसलाई पनि कात्तिक मसान्तसम्म टुंग्याउने गरी काम भइरहेको बताउनु भएको छ ।’

यता शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा पार्टीका तर्फबाट राख्ने धारणा तय गरिएको शर्माले जानकारी दिए । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार ४ बजे सर्वपक्षीय बैठक बोलाएका छन् ।
शर्माले भने, ‘कात्तिक १७ मा भारतले आफ्नो नयाँ नक्सा नेपाली भू–भाग समेटेर नक्सा सार्वजनिक गरेको छ । यस विषयमा भारतसँग द्वीपक्षीय छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे सर्वपक्षीय बैठकमा हाम्रो राय राख्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस !