काठमाडौ । पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत देशैभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखि पानी समेत परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार गत बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली, हिमपात र वर्षा भएको हो । महाशाखाले अबको तीन दिन यसको प्रभाव रहने जनाएको छ । आइतबारदेखि भने यसको प्रभाव क्रमशः घट्दै जानेछ ।

उता, हिमाली भेगका प्रायजसो जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या बनाएको छ । त्यसैगरी, कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु हुँदा हवाई उडान दुई दिनदेखि अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट बिहान ७ः०० बजेदेखि हुम्लामा उडान गर्दै आएका तारा, सीता र समिट एयरलाइन्सका उडान प्रभावित भएका छन् । यहाँको तापक्रम माइनस ६ डिग्रीमा झरेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !