सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था कमजोर छ । तराई र पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा विरामी चेक जाँच गर्ने साधन भएपनि विशेषज्ञ डाक्टरहरुको अभाव कायम छ । डाक्टरहरुको दरवन्दी भएपनि खाली छ । समस्या भएपनि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुबेदीले स्वास्थ्य सुधारका निमित्त पहल गर्न खोजिरहेका छन् । उनले स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि के गर्दै छन त भन्ने विषयमा समावेशीका लागि मन्त्री सुबेदीसंग टंक कुँवरले गरेको कुराकानीको सारसंक्षेप ः
. सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यको अवस्था कस्तो छ ?

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यको अवस्था हेर्दा विगत देखि अहिलेसम्म त्यति सुधार उन्मुख छैन । तर सो अवस्थालाई म मन्त्री भएर आईसके पछि प्रत्येक जिल्लामा बुझ्नका लागि पुगेको छु । यहाँको सेती प्रादेशिक अस्पताल, टीकापुर, महाकाली अस्पताल र पहाडी जिल्लाका अस्पतालहरुमा पुगेर अनुगमन गर्दा केही अस्पतालहरुमा सुधार उन्मुख देखिएको छ भने केही अस्पतालहरुमा कर्मचारी समायोजनका कारण स्वास्थ्यको अवस्था अव्यवस्थित देखिएको छ । यस्तो हुनाको कारण के हो भने धेरैजसो डक्टरहरु र कर्मचारीहरुले संघ रोजे । पहाडी जिल्लाका अस्पतालहरुमा त प्रयाप्त मात्रामा डक्टरहरु नै छैनन । त्यसकारण अलि काम गर्न सहज छैन समस्या छ ।
तपाईले भने जस्तै तराई र पहाडी जिल्लाका अस्पतालहरुमा दरबन्दी छ तर डाक्टर छैन तर पदपुर्तिका लागि पहल चाल्नु भएको छैन त ?

हामीले पदपूर्तिका लागि खाका तयार गरिरहेका छौं । तत्काल करारमा नियुक्ति गर्न छलफल गर्दैछौं । करारका लागि छिट्टै विज्ञापन खोलेर प्रत्येक जिल्ला अस्पताल र सेती, महाकाली र टीकापुर अस्पतालमा डक्टरहरुको पदपुर्ती गरेर स्वास्थ्य क्षेत्रलाई सुधार उन्मुख बनाउने छु ।
स्वास्थ्यको समस्या डाक्टर नहुनु मात्र हो की अन्य केही छ ?

पहिलो कुरा त डाक्टर नहुनु नै ठूलो समस्या हो । दोस्रो समस्या पहाडका विकटका क्षेत्रमा डाक्टरहरु नवस्नु हो भने तेस्रो समस्या थोरै जनशक्तिले काम चलाईराख्नु नै हो । यी यावत कारणले जनतामा सेवा प्रवाहमा समस्या छ ।
अहिले पनि ग्रामीण क्षेत्रका जनताहरुमा स्वास्थ्यको पहुँच छैन भन्ने गुनासाहरु छन त्यस्ता क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउन के गर्दै हुनुहुन्छ त ?
स्वास्थ्यको पहुँचका विषयमा भन्नु पर्दा प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्था स्थानीय तहको मातहतमा छन् । स्थानीय तहका साथीहरुले ग्रामीण क्षेत्रका जनताहरुलाई सेवा दिईराख्नु भएको नै छ होला । हामीले स्थानीय तहलाई स्वास्थ्य क्षेत्रको पहुचका लागि निःशुल्क औषधी अनुदान दिएर सहयोग गरिरहेका छौं । प्रत्येक स्वास्थ्य संस्थामा खोप पु¥याउने कुरा र अन्य सेवा सुविधाका लागि प्रदेश सरकाले सहयोग गरिराखेको छ । हामीलाई लाग्दैन की ग्रामीण क्षेत्रका जनताहरुमा स्वास्थ्यको पहुच छैन भनेर ।
सेती प्रादेशिक अस्पतालमा सेवाग्राहीको माग चाहिँ डाक्टरले गर्ने चेकजाँचको समयावधी बढाउनु पर्ने भन्ने छ , तर उनीहरुको माग पुरा नहुनुको कारण चाहिँ के हो ?

सेती प्रादेशिक अस्पताल सु.प. कै सबैभन्दा ठूलो अस्पताल हो । यसलाई नमुना अस्पताल बनाउन प्रदेश सरकार लागेको छ । यस्मा गत वर्ष भन्दा यस वर्ष सुधार भएकोछ । सुधार गरेर अगाडि बढ्दैछौं । भर्खरै अस्पताल व्यवस्थान समिति गठन गरेका छौं । त्यहाँ केही डाक्टर नभएका कारणले सेवामा केही कठिनाई छ । करारमा पदपुर्ति गरेर अगाडि बढाउने कुराका लागि लागेका छौ । स्थापना काल देखि अहिलेसम्म नभएको अक्सिजन प्लान्ट हामीले जोडिसकेका छौं । अव जहाँसम्म रह्यो सेवाग्राहीको कुरा हामीले अस्पतालमा दिेने चेकजाँचको समयावधी बढाउन व्यवस्थापन समितिको अध्यक्ष डक्टरहरुसंग बसेर परामर्श गरिरहेका छौं । हामीले डाक्टरलाई बाहिरको क्लिनिकमा गएर चेकजाँच नगरिदिनुस ड्युटी बाहेकको समयमा पनि यही बसेर विरामीलाई चेकजाँच गरिदिनुस भनेका छौं । थप सेवा सुविधाका लागि कार्ययोजना बनाएर अधि बढ्ने तयारीमा छौं । कार्ययोजना हामी कहाँ आइसकेको छ । डाक्टरहरु र हामी बसेर अगाडि बढाउनमा जुटेका छौं ।
अस्पताल अन्तर्गत नर्सिङ्ग क्याम्पस स्वास्थ्य प्राविधिक शिक्षा लागु गर्ने योजना के भइरहेको छ ?

त्यो अहिले सोचिरहेका छौं । पोखराबाट सम्बन्धन ल्याएर गर्ने की भन्ने सोचाई छ । अहिले निर्णय भएको त छैन । त्यो बनाउदा असाध्यै राम्रो हुन्छ अवधारणा अघि बढाउँछौं ।
सेती प्रादेशिक अस्पताललाई तीन सय बेडको स्तरबृद्धि गर्ने भन्ने थियो कहाँ सम्म पुग्यो ?
तीन सय बेडको स्तरबृद्धि गर्नका लागि अस्पतालबाट माग भएर आएको छ । यसलाई मन्त्रालयबाट लगेर क्याविनेटमा पारित गर्छौ । प्रदेश सरकारले नै तीन सय बेडको स्वीकृति दिन मिल्छ भने दिन्छौं । नभए संघीय सरकार स्वास्थ्य मन्त्रालयमा पठाएर अघि बढाउछौं ।

स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा के गर्दै हुनुहुन्छ ?

मेरो मन्त्रालयमा जन सरोकारका विषय शिक्षा स्वास्थ्य, महिला, वालवालिका, समाज कल्याण, भाषा, संस्कृति, श्रम रोजगार, यूवा तथा खेलकुद जस्ता ठूलो क्षेत्र छ । यो मन्त्रालय प्रत्यक्ष जनतासंग सरोकार राख्ने र जनतालाई सेवा दिने मन्त्रालय भएको हुनाले यसका अप्ठ्याराहरु पनि धेरै छन । वजेट न्यून छ । जनताका चाहाना धेरै छन । वजेट सीमित हुँदा हुँदै पनि जनताका आकांक्षा पूरा गर्न र जनतालाई सेवा दिने कुरामा मन्त्रालय लागि रहेको छ । हामीले स्वास्थ्य क्षेत्र जस्तैअन्य क्षेत्रमा पनि सकरात्मक काम गर्दैछौं ।

अन्तमा केही भन्न चाहानु हुन्छ ?

हामीले जनताले खोजे अनुसारको सेवा दिन क्रियाशील भएर लाग्ने छौ । यहाँका जनताहरुले मेरो मन्त्रालय मातहतका कुनै निकाय र कर्मचारीबाट गल्ती भएको छ भने तपाईहरु जस्ता पत्रकार र यहाँका जनताहरुले खवरदारी गर्न आवश्यक छ । हामी जनतालाई सर्वोपरी ठानेर जनताको हितमा काम गर्ने कुरामा कटिबद्ध छौं । संघीयता लागु भईसकेपछि हामी नौलौ अभ्यासमा छौं । प्रदेशको संरचना नयाँ छ । कहीँ कतै प्राविधिक कारण, जनशक्ति अभावका कारण जनतालाई सक्दो सेवा दिन सकेका छैनौं । सामाजिक विकास मन्त्रालयले यस क्षेत्रका जनताका सरोकारका विषयमा काम गर्ने छ र गरेर देखाउने छ भन्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस !