काठमाडौं । एउटा ‘यति’का कारण बदनाम भएको सरकारले अर्काे ‘यति’को नाममा ९ करोड समर्पण गर्दैछ । १ जनवरीदेखि नेपाल भ्रमण वर्ष शुरु भयो । र सरकारी लक्ष्य छ सन् ०२० मा २० लाख पर्यटक भिœयाउने । यही लक्ष्य साकार पार्ने नाममा यतिको मूर्ति (मस्कट) बनाउने भन्दै राज्यको ढुकुटीबाट झण्डै नौ करोड खर्चन लागिएको हो ।

भ्रमण वर्षको अवसरमा विभिन्न मुलुकमा यतिको मूर्ति (मस्कट) पठाउने भन्दै १ सय ८ वटा मूर्ति धमाधम कुँदिँदै छ । र लक्ष्य छ, अबको चार महिनाभित्र तयार पारी विदेशस्थित विभिन्न निकायहरूमा पठाइसक्ने । यसका लागि झण्डै ९ करोड (आठ करोड ५० लाख) खर्च लाग्ने अनुमान गरिँदैछ । मूर्ति कुँद्ने जिम्मेवारी पाएका छन् त्रिविविबाटै फाइन आर्ट्समा स्नातकोत्तर गरेका विजय महर्जनले । अहिले महाराजगञ्जस्थित उनकै स्टुडियोमा धमाधम मूर्तिलाई आकार र अन्तिम रुप दिने काम तीव्र गतिमा भइरहेको छ । विजयका अनुसार एउटै मूर्ति तयार गर्न झण्डै १५ दिन लाग्छ ।

उनले यो प्रोजेक्ट पाएसँगै भ्रमण वर्षको अवसरमा जम्मा २० वटा मूर्ति तयार पारेका थिए जसलाई भ्रमण वर्ष समुद्घाटनको अवसरमा दशरथ रंगशालामा राखिएको थियो । यो बीचमा जम्मा २ वटा मूर्तिको काम सम्पन्न भएको छ । अझैं ८८ वटा मस्कट तयार गर्नु छ । समयसीमा दिइएको छ चार महिना । विजयको समूहले एउटा मस्कट तयार पारेवापत पारिश्रमिकस्वरुप ५ लाख बुझ्नेछन् ।

मस्कट अमेरिका, बेलायत, कतार, भुटान, चीन, एशियाका मुख्य शहर, युरोप, अष्ट्रेलिया, विभिन्न देशका विमानस्थल, हाम्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, केही नगरपालिका, केही साँस्कृतिक तथा ऐतिहासिक धरोहरहरूको अघि राखिने जनाइएको छ । यस विषयमा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यसँग जिज्ञाशा राख्दा सरकारले कूल २० लाख रकम मात्र छुट्याएको र बाँकीको लागि प्रायोजकको खोजी भइरहेको सुनाए ।

प्रतिक्रिया दिनुहोस !