काठमाडौं । प्रजातान्त्रिक विचार समाजले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको समसामयिक राजनीति, सरकारका तर्फबाट प्रस्तुत संविधान र विधेयकको बारेमा ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष डा. केदारनरसिंह केसी नेतृत्वको टोलीले शुक्रबार सभापति देउवालाई भेटेर वर्तमान सरकारबाट लोकतान्त्रिक मूल्य मान्यतामाथि निरन्तर प्रहार हुँदै गएको भन्दै ध्यानाकर्षण गराएको हो ।

समाजले जनताको ठूलो मत पाएको सरकारले संविधान कार्यान्वयन र जनअपेक्षाअनुसार काम गरेर जनतालाई अनुभूति हुने खालको काम गर्न नसकेको भन्दै लोकतन्त्रलाई कमजोर बनाउने काम प्रजातान्त्रिक विचार समाजलाई स्वीकार्य नहुने बताएको छ । अध्यक्ष केसीले लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयन काँग्रेसकोे मूलजिम्मेवारी भएको बताउँदै काँग्रेसभित्रै आन्तरिक झगडा हुनु लोकतन्त्रलाई कमजोर बनाउने खेल भएको बताए ।

“एकताबद्ध र बलियो भएर सरकार विरुद्ध उभिनुपर्ने काँग्रेस घरभित्रको खिचातानीमा अल्झिएको छ, यसरी अल्झिएको काँग्रेसले कसरी आफ्नो भूमिका निर्वाह गर्नसक्छ”,उनले भने । समाजले पार्टीभित्रको झगडाले काँग्रेसलाई माया गर्ने आम मानिसमा निराशा छाएको बताउँदै पार्टीलाई एकताबद्ध र मजबुत बनाउन पार्टी नेतृत्व लाग्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस !