काठमाडौं । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल नक्कली इन्काउन्टरमा मारिएपछि छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दा १० दिन बैठक स्थगित गर्ने तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो, ‘त्यो त धेरै भयो ।’ तर, अहिले उहाँसमेत एक व्यक्तिको हकमा अनिर्णयको बन्दी बन्दा संसद् झण्डै महिना दिनदेखि ठप्प छ । सूचना टाँस्दै, भाका सार्दै सभामुख चयन प्रक्रिया लम्बिँदै माघ ६ गते सोमबारसम्म पुगेको छ । के अबको म्याद अन्तिम होला ? सदन शुरु भएको एक महिनापछि बल्ल देशले नयाँ सभामुख पाउला ?
सभामुखका निम्ति प्रधानमन्त्री केपी ओलीका तर्फबाट प्रस्तावित सुवास नेम्वाङ र नेकपाका अर्का अध्यक्ष प्रचण्डको रोजाइका अग्नि सापकोटाको नाम पनि थाती राखेर एउटी महिलाले हलो अड्काएको ठाउँमा अर्की महिलालाई ल्याउने गरी साउती मारिँदैछ । अर्थात्, पूर्वमाओवादी समूहबाटै पम्फा भुषालको नाममा समझदारी बन्न लागेको भित्री खेलोबारे सूचना प्राप्त भएको छ । पूर्वमाओवादी नेताहरुबाट प्रचण्डमाथि ‘सबै कुरा छोड्ने हो भने काशीतिर लागे हुन्छ’ भनेर तीव्र दबाब परिरहेको छ । त्यही दबाबले आकार ग्रहण गर्दा खेलो यहाँसम्म आएको बुझिन्छ ।
त्यसो गर्दा पूर्वबादल समूह, अर्थात् वैद्यसँगै फुटेर गएका र पछि फिर्ता आएका नेतामध्येबाटै एउटालाई संसद् र अर्कोलाई सरकारको नेतृत्व सुम्पनुलाई पूर्वमाओवादीहरूले सजिलै ग्रहण गर्लान् ? त्यसैलाई काट्नका लागि चलाखीपूर्वक नारायणकाजी श्रेष्ठको राष्ट्रियसभामा प्रवेश हुन लागेको त हैन ? राष्ट्रियसभाको उम्मेदवार छान्न बसेको नेकपा सचिवालय बैठकमा नारायणकाजीको नाम फ्याट्ट आइदिँदा प्रचण्डले नै ‘चक्मा’ खानुपर्ने स्थिति देखियो । महासचिव विष्णु पौडेलले नाम पढेर सुनाउने क्रममा नारायणकाजीको नाम आएपछि प्रचण्डले अर्का अध्यक्ष ओलीतिर हेरेर सोध्नुभयो, ‘हैन उहाँलाई ल्याउनु र ? राम्रो हुन्छ र…†’ ओलीले ‘हैन–हैन, ठीक हुन्छ, त्यसै गरौँ’ भनेपछि नेपाली राजनीतिमा नयाँ सम्भावनाको संकेत देखिएको बताइन्छ ।
प्रचण्डले पूर्वमाओवादीभित्र अस्तित्ववान अनेक गुटमध्ये वैद्य, बाबुराम, बादल र विप्लवले साथ छाडेर बाटो लागे पनि थुप्रै मतभिन्नताका बाबजुद आफूसँगै रहेको नारायणकाजी समूहलाई सरकार र पार्टीमा सधैं कुनै न कुनै जिम्मेवारी दिएर अड्याइराखेको स्थिति छ । यसचोटि पनि सभामुख पम्फालाई दिई बादललाई सरकारबाट फर्काउने अनि पूर्व एकताकेन्द्र समूहलाई सत्ताको दोस्रो वरियतामा लाने खेल त प्रारम्भ हुँदै छैन ? कतै यसमा प्रचण्डलाई अर्का अध्यक्ष ओलीले त ओभररुल गर्दै हुनुहुन्न ? आशंका अनेक छन् ।
जनआस्थाबाट