काठमाडौँ । माघ १ गते बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम विस्फोट गराएको थियो । त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो । यी दुवै घटनाको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ । सो समूहले राज्यको सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकट एक नेता बताउँछन् ।

ललिता निवास प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेललाई विप्लव समूहले मुख्य ‘टार्गेट’ मा राखेको घोषणा गरेको छ । ढकालको घरमा भेटिएको विप्लव समूहको पर्चामा महासचिव पौडेललगायत केही व्यक्तिहरुको नाम टार्गेट सूचीमा राखेको पाइएको हो ।

विप्लवको कारबाहीको लिस्टमा विष्णु पौडेल, भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोयल समूह, चाचन ग्रुप, केडिया ग्रुप, सारदा ग्रुप, रामकुमार सुवेदी र गोपाल खनाल छन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको एक महिना नबित्दै नख्खुस्थित एनसेल टावरमा बम विस्फोट गराएको थियो । बम विस्फोट २०७५ फागुन १० गते भएको थियो । सो विस्फोटमा परी दुईजनाको मृत्यु भएको थियो । सोही दिन कमलपोखरीस्थित ल्होत्से चोकमा रहेको आँगन स्विट्सभित्र बम भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस !