काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले रिक्त सभामुख पदमा अग्नी सापकोटलाई उम्मेदबार बनाउने निर्णय गरेको छ । बालुबाटारमा बसेको सचिवालय बैठकले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सापकोटालाई सभामुख पदका लागि सिफारिस गर्ने निर्णय गरिएको नेकपाका नेता विष्णु पौडेलले बताउनुभयो ।
सापकोटा २०३६ सालमा तत्कालीन संयुक्त जनमोर्चाको चौंथो जिल्ला महाधिवेशनबाट संस्थापक जिल्ला सचिव र २०४८ सालमा केन्द्रीय सदस्य हुँदै २०५१ सालदेखि नेकपा (माओवादी) मा आवद्ध हुनुभएको थियो ।
उहाँले जनयुद्धका बेला भूमिगत भई विभिन्न मोर्चामा रहेर काम गर्नुभएको थियो यस अघि सूचना तथा सञ्चारमन्त्री हुनुभएका सापकोटा जनयुद्धका बेला सरकारसँगको पहिलो वार्ता टोलीमा सदस्य रहनुभएको थियो ।
उहाँ २०७४ सालमा माओवादी स्थायी समिति सदस्य हुनुका साथै २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थायी समिति सदस्य बन्नुभएको थियो । उहाँ २०६४ र २०७० सालमा सिन्धुपाल्चोक–२ बाट संविधानसभा सदस्य निवार्चित हुनुभएको थियो । त्यस्तै २०७४ सालमा भएको संसदीय निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका प्रभावशाली नेता मोहन बस्नेतलाई हराउँदै निर्वाचित भएका अग्नि सापकोटा सिन्धुपाल्चोकको चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका हुन् ।