काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा समूहगत छलफल भएपछि हलले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेको हो ।
बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि विभिन्न १५ समूहमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले जवाफ समेत दिएका थिए । सो क्रममा प्रचण्डले केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए ।
यसैबीच नेकपाको सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष भएका छन्। आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन्। यसअघि गत साउनमा नेकपाको सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई स्थायी कमिटी बैठकले पनि पारित गरेको थियो।
यसैबीच सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरूको सम्पत्ति छानविन हुने भएको छ। केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले नेताको सम्पत्ति छानविन हुनु पर्ने माग गरेपछि अनुशासन समितिलाई छानविनको जिम्मा दिइएको छ। आइतबार केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन समितिलाई सम्पत्ति छानविन गर्ने अधिकार दिइएको जानकारी गराएका छन्।