काठमाडौँ । शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । विभिन्न क्षेत्रमा आंशिक बदली रहने र केही क्षेत्रमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “पश्चिमी भेगका केही स्थानमा पानी परिसकेको छ, मध्य र पूर्वका भूभागमा शुक्रबार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ,” मौसमविद् मीनकुमार अर्यालले भन्नुभयो ।

मौसमविद् अर्यालले ठूलो न्यून चापीय प्रणाली नभए पनि यसले केही दिन मौसममा बदली कायम रहने जानकारी दिनुभयो । शनिबार यसको प्रभाव केही भेगमा कायम रहँदै आइतबारदेखि मौसममा केही सुधार आउने सङ्केत रहेको महाशाखाले जनाएको छ तर यो क्रम केही दिन कायम रही फेरि बदलीको सङ्केत आइरहेको छ । अर्को हप्ताको केही दिन फेरि बदली र हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !