काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा कार्यक्रम पछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काममा सरकार केन्द्रीत भएको बताए । परिस्थिति अनुकुल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीतिहरु अगाडि बढाउने तयारी मन्त्रालयले गरेको उनले बताए ।

विश्वबजार कोरोनाबाट प्रभावित बन्दै गएको सन्दर्भमा आएका सुझावहरुलाई मध्यनजर गर्दै तत्काल विदेशमा हुने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको उनले बताए । उनले भने, ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौँ । आन्तरिक पर्यटनमा जोड दिँदै नीतिहरु अगाडी बढाउछौं । जब परिस्थिति अनुकुल हुन्छ । सन्त्रासहरु हट्दै जान्छन् त्यसपछि हामी फेरि सक्रियताका साथ भ्रमणवर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्छौँ ।’

भ्रमण वर्ष २०२० लाई भव्य रुपमा मनाउन र लक्ष्य अनुसार पर्यटक भित्र्याउन विभिन्न माध्यमबाट प्रचारप्रसारका कामहरु अगाडी बढेपनि नयाँ वर्ष २०२० सुरु भएसँगै चीनको वुहानबाट देखा परेको कोरोनाका कारण प्रभावित हुँदै गएको थियो नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमानाकाहरुमा सरकारले कडाइ गरेको छ । मन्त्री भट्टराईले विमानस्थल र सीमा नाकाहरुमा आवश्यक उपकरणसहित स्वास्थ्यकर्मीको टोली खटाइएको बताए ।

सरकारले २ हप्ताअघि चीनको प्रभावित क्षेत्र वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याएको थियो । उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस !