काठमाडौं । कुनै समय कर्मचारी जान हानथाप हुने देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय अहिले कर्मचारी अभावमा थला पर्न लागेको छ । अख्तियारको पटक–पटकको कारबाहीपछि त्यहाँ कर्मचारीको भागाभाग भएको हो । अहिले पनि सो कार्यालयमा काम गर्दा अनियमितता गरेको आरोपमा १३ जना कर्मचारी निलम्बित अवस्थामा अख्तियारको मुद्दा खेपिरहेका छन् ।

तालुकवाला गृह मन्त्रालयले विमानस्थल अध्यागमनमा कर्मचारी पठाउन नसक्दा एक मात्र अन्तर्राष्ट्रिय हवाई नाकाबाट आवागमन गर्ने यात्रु मारमा परिरहेका छन् । नेपाल भित्रिने वा बाहिरिने हरेक उडानका यात्रु कर्मचारी अभावकै कारण ३ घण्टासम्म कुरेर अध्यागमन प्रक्रिया पूरा गर्न बाध्य छन् ।
दैनिक २१ घण्टा सञ्चालनमा रहने विमानस्थल अध्यागमनमा जम्मा १ सय २९ जना डेस्क अधिकृत (अध्यागमन अधिकृत)को दरबन्दी तोकिएको छ । सय जनाभन्दा कमले मात्र मुलुकको एक मात्र अन्तर्राष्ट्रिय अध्यागमन धानिरहेका छन् । न्यूनतम ३ सिफ्ट काममा कर्मचारी खट्नुपर्छ र एक सिफ्टमा ३६ जना कर्मचारी रहनुपर्ने हुन्छ । तर, अहिले अभावका कारण उपलब्ध कर्मचारीबाट प्रतिसिफ्ट २५ जना पनि नपुग्ने अवस्था छ ।

महŒवाकांक्षी राष्ट्रिय लक्ष्यसहित राज्यले भ्रमण वर्ष २०२० कार्यान्वयनमा ल्याएको छ । मन्त्रीहरू भ्रमण वर्षको प्रचार प्रसारमा थुप्रै राष्ट्रको भ्रमणमा खटिइरहेका छन् । तर, निम्ता गरेर भिœयाइएका पाहुनालाई नाकामै ३ घण्टाभन्दा बढी उभ्याएर दिक्क बनाउने काम किन भइरहेको छ ? गृहमन्त्री वा पर्यटनमन्त्री विमानस्थल पुग्नासाथ सुनाइने पहिलो र जल्दोबल्दो समस्या अध्यागमनमा कर्मचारी अभाव बनेको छ । हरेकपटक मन्त्रीहरूले आवश्यकभन्दा केही बढी नै कर्मचारी खटाएर समस्या समाधान गरिने बनाउने गरेका भए पनि हालसम्म किन कर्मचारी खटाइएन ?

यस सम्बन्धमा गृहका एक सहसचिवले सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाएका कारण अध्यागमन रित्तो हुन गएको बताए भने सामान्यले गृहमा पर्याप्त अधिकृतहरू खटाएको बताउने गरेका छन् । हाल विमानस्थल अध्यागमनमा खटिएका कर्मचारीलाई बिदा बस्न कडाइ गरिएको छ । उनीहरूमध्ये कतिपय त कम्प्युटर चलाउन नजान्ने पनि रहेका छन् । बिदा बस्न पनि नपाउने र नाकामा बसेर संसारभरका अनेक खाले मानिससँग सम्पर्कमा रहेर काम गर्दा कहिलेकाहीँ देखिने बिरामी (रुघाखोकी)का लक्षणको अस्पताल गएर परीक्षण गर्ने समयसमेत नपाउने अवस्था अहिले त्यहाँ विद्यमान छ । एक महिला अधिकृतले आँशु झार्दै त्यहाँको दुःख सुनाइन् ।

हप्तामा एकदिन बिदा पाउने वा बिरामी पर्दा उपचार गर्न पाउने न्यूनतम मानवीय समवेदनाका विषयमा समेत बेवास्ता गरिएका कर्मचारीले निरन्तर मुस्कानसहितको सेवाचाहिँ अन्तर्राष्ट्रिय यात्रुलाई कसरी प्रदान गर्न सक्लान् ? यसतर्फ किन गृहसचिव, प्रशासन प्रमुख, मन्त्री र सामान्यका खेलाडीको ध्यान नगएको होला ? कुनै बेला मन्त्री, सचिवदेखि बालुवाटार र शीतल निवासको समेत पहँुचबाट त्यहाँ जान रमिता देखाउने कर्मचारीतन्त्र कोरोना भाइरसको संक्रमणसँगै जसरी पनि उसैगरी शक्ति लगाएर विमानस्थल अध्यागमनबाट भाग्ने क्रममा छन् । कोरोनाको संक्रमणपछि मात्रै दर्जन पहुँचवाला कर्मचारी मन्त्रालय फिर्ता भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस !