
काठमाडौं । मन्त्रिपरिषद्ले आइतबार साँझ लीलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न किसिमका हल्ला व्याप्त छन् । प्रधानमन्त्रीसँग मत नमिलेको, प्रचण्डसँग प्रधानमन्त्रीको दूरी बढेको बदला लिँदा लिलामणि घानमा परेको, आफ्नो चीन भ्रमणको बेलादेखि नै प्रधानमन्त्री राजदूतसँग खुशी नभएको, चिनियाँ राष्ट्रपति आएको बेला पनि सेड्युल बिनै सि चिनफिङ र प्रचण्डबीच भेटवार्ता गराएको जस्ता कारणले मतभेद थपिएको जस्ता हल्ला भए पनि भित्री र खास कारण अर्कै रहेको परराष्ट्रमा गाइँगुइँ छ । उल्लिखित कारण थिए भने पहिले नै पौड्याल फिर्ता भैसक्नु पर्ने ! तर अहिले आएर यस्तो निर्णय हुन गयो । त्यसोभए किन गलहत्याइए त लीलामणि पौड्याल ?
बेइजिङस्थित अहिलेको नेपाली दूतावास चार दशकअगाडि बनेको हो । पुरानो भवन भएकाले मक्किएर भत्किन लागेको छ । परराष्ट्रका एकजना उच्च अधिकारीले बताएअनुसार भवनमा पानी पसेर दुःख दिने गर्छ । पौड्याल गएपछि नयाँ भवन बनाउने योजना अगाडि सारे । सोहीअनुसार केही महिनाअघि नेपाल सरकारले इञ्जिनियर पठायो । चिनियाँ सरकारको रोहबरमा इस्टिमेट भयो । एक अर्ब ४० करोड नेपाली रुपैयाँको लागत तयार भयो र त्यसलाई मन्त्रालयले स्वीकृत पनि ग¥यो । कोरोना भाइरसको संक्रमण नभएको भए यतिबेला नयाँ भवन थालिसक्थ्यो । चीनमा दुई महिनादेखि कोरोना भाइरस संक्रमण भएर सबै काम ठप्प छन् ।
लीलामणिलाई फिर्ता बोलाउनुको एउटा कारण त्यही पैसाको खेल भएको बताइन्छ । यति ठूलो बजेट हुँदा कम्तीमा पनि १० प्रतिशत कमिसन आउँछ । त्यो भनेको १४ करोड रुपैयाँ हो । भ्रष्टाचार नै गर्ने हो भने कम्तीमा ३० करोडजति हिनामिना हुन सक्छ । तर, शाकाहारी र अव्यवहारिक तथा रुखा लीलामणि बेइजिङमा रहँदासम्म एक पैसा पनि झर्ने कसैले ठानेनन् । जम्मा ८ महिना मात्र कार्यावधि बाँकी रहे पनि उनकै कार्यकालमा नयाँ भवन बनाउने परियोजना शुरु हुने निश्चितजस्तै भयो । र खराब व्यापारीहरुले चलखेल गर्न चुक्ली लगाउन थाले । यसमा मुख्य भूमिका बालुवाटारका एकजना भित्रिया र केही व्यापारीले खेलेको स्रोतले बताएको छ । मन्त्री प्रदीप ज्ञवालीले शुरुमा आफ्नै जिल्लावासीलाई हठात हटाउन मानेका थिएनन् । तर, चर्को दबाब आएपछि उनी पनि बाध्य बनेको स्रोतको दाबी छ ।