पत्रकार तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले ‘इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स’ अवार्ड पाएका छन् । भारतको बेंग्लोरमा आयोजित १४ औं ‘ग्लोबल कम्युनिकेसन कनक्लेभ’ मा ‘पब्लिक रिलेसन काउन्सिल अफ इन्डिया’ले शुक्रबार पन्तलाई सो अवार्ड प्रदान गरेको हो ।
विश्वभरीबाट भेला भएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडिया विज्ञहरुको उपस्थितीमा प्रदान गरिएको उक्त अवार्ड अन्तराष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ। पन्तले सञ्चार, मिडिया विकास तथा अनुसन्धानका क्षेत्रमा अन्तराष्ट्रिय रुपमा पुर्याएको योगदानका लागि काउन्सिलले उक्त अवार्ड दिएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका नागार्जुनमा जन्मेका पन्त विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता, मिडिया विकास र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा काम गरिरहेका छन् । पत्रकार पन्त विश्व सञ्चार परिषद् (डब्लुसीसी) नेपाल च्याप्टरको अध्यक्ष समेत हुन् । उनी मानवअधिकार क्षेत्र तथा संयुक्त राष्ट्र संघका विभिन्न निकायमा एक दशक सञ्चार विज्ञ तथा सल्लाहकारका रुपमा सेवा प्रदान गरिसकेका छन् । ११ वर्ष अघिदेखि विश्वव्यापी रुपमा प्रदान गरिंदै आएको उक्त अवार्ड पाउने पन्त पहिलो नेपाली हुन्।
सो कार्यक्रममा नेपालबाट डब्लुसीसी नेपाल च्याप्टरका अध्यक्ष पन्तसहित कोषाध्यक्ष आरती शिल्पकार, सह सचिव सुरेशकुमार यादव, सदस्यहरू राधा खनाल, यमबहादुर दुराको सहभागिता थियो ।