फागुन । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ(फिफा)ले विश्वकप फुटबल २०२२ को छनोट खेलहरु स्थगित गरेको छ । एशियाली फुटबल महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा फिफाले विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गरेको जनाएको छ । फिफाले मङ्गलबार एक वक्तब्य जारी गरी मार्च २३ देखि ३१ र जुन १ देखि ९ सम्मका लागि निर्धारित खेल तात्कालका लागि स्थगित गरिएको जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैल्ने जोखिममा उक्त छनोट खेल स्थगित गरिएको फिफाले जनाएको छ । स्थगित गरिएको खेलको पुर्नतालिका सम्बन्धमा फिफाले एशियाली महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा अर्को मीति तोक्ने जनाइएको छ । यद्दपी उसले छनोट खेल्ने सम्बन्धित राष्ट्रहरु आपसी समझदारीमा पूर्व निर्धारित मितिमै पनि छनोट खेल खेल्न सक्ने एशियाली फुटबल महासंघले जनाएको छ । त्यसका लागि दुबै राष्ट्रबीच समझदारीसँगै सावधानीका पर्याप्त उपाय अपनाएको हुनुपर्ने जनाएको छ । तोकिएकै मितिमा छनोट खेल्ने फिफा र एशियाली महासंघको पूर्वस्वीकृति अनिवार्य हुने शर्त निर्धारण गरिएको छ ।

त्यसैगरी, फिफाले ओलम्पिक फुटबल प्रतियोगिताको छनोट खेल निर्धारित मितिमै हुने प्रष्ट्याएको छ । तर दक्षिण कोरिया र चीनबीचको खेल भने जुन १ देखि १० सम्मको अर्को सत्रमा हुने एशियाली महासंघले उल्लेख गरेको छ । खेलमा सहभागी प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर फिफा र एशियाली महासंघले छनोट खेलको पुर्नतालिका गर्ने एशियाली महासंघले जनाएको छ ।

यसअघि फिफाले छनोट खेल स्थगित गर्ने सम्बन्धमा सदस्य राष्ट्रहरु समक्ष औपचारिक प्रस्ताव पठाएको थियो । नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइसँग चैत्त १३ गते र अष्ट्रेलियासँग चैत्त १८ गते दशरथ रङगशालामा छनोट खेल्ने पूर्वतालिका रहेको थियो । त्यसैगरी, जुन महिनामा जोर्डनसँग स्पर्धा गर्ने तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !