कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले बजारमा मास्क अभाव भएको ठाउँमा धेरै मूल्य लिन थालेपछि यहाँको वडा कार्यालयको नेतृत्वमा त्यसको उत्पादन गरी विद्यार्थीलाई मास्कसँगै साबुन निःशुल्क रुपमा वितरण गर्न थालिएको छ । बालमैत्री वडा घोषणा गरिरकेको काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका–१० ले वडा अध्यक्ष पुष्पराज राउतको नेतृत्वमा वडाको तर्फबाट कपडा खरिद गरी स्थानीय व्यक्तिहरुबाट नै मास्क उत्पादन गर्न लगाई वडाभित्रको कालिका माध्यमिक विद्यालय र बालज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई आजबाट निःशुल्क रुपमा वितरण शुरु गरेको हो ।
विश्वमा नै फैलिदो अवस्थामा रहेको कोरोना भाइरस(कोभिड–१९)को सन्त्रास बढिरहेको बेला बजारमा मास्क किन्न नै नपाइने र भएको ठाउँमा धेरै पैसा तिरेर किन्नुपर्ने अवस्था सिर्जना भएकाले स्थानीयस्तरमा नै उत्पदान गरेर विद्यालयका विद्यार्थीलाई वितरण गर्न शुरु गरेको वडाध्यक्ष पुष्पराज राउतले बताए । दिएको कुराले सधैँ परिपूर्ति हुने नभई त्यसले एउटा सचेतनाको अभियान शुभारम्भ भएको नमूनाको रुपमा लिन वडाध्यक्ष राउतले आग्रह गरे । शुरुमा नमूनाको रुपमा प्रस्तुत भएको सो अभियान सफल भएपछि वडाभित्रका करिब दूई हजार ८०० जनसङ्ख्यालाई नै वितरण गर्ने योजनामा रहेको राउतले बताए । स्थानीय जनशक्तिबाट कपडा र सिलाइ ज्याला गरी प्रति थान १२ रुपैयाँमा सो मास्क तयार भएको जनाइएको छ ।
धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले मास्कले सबै भाइरस थेग्न सक्ने भन्ने नभई यो एउटा व्यक्तिगत सरसफाइमा सचेत छ भन्ने उदारहण मात्रै भएको बताए ।
उनले रुघाखाेकी भन्दा अलि फरक लक्षण देखिने भएकाले सचेत रहन र सामान्य त्यस्तै लक्षण देखापरेको अवस्थामा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचारको लागि लैजान सुझाव दिए ।
सबैभन्दा बढी दूषित वस्तु भनेको मानिसको हात भएकाले साबुन पानीले हातलाई सधैँ सफा राख्न उनले आग्रह गरे । सो क्रममा कालिका माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी २७० जना र बालज्योति आधारभूत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरी १४४ जनालाई एक वटा मास्क र एउटा साबुन निःशुल्क रुपमा वितरण गरिएको छ ।