काठमाडौं । कोरोना संक्रमितको सङ्ख्या वृद्धि हुन थालेपछि काठमाडौं उपत्यकामा प्रहरीले जेठ १ गते देखि थप कडाइ गर्न थालेको छ । चोकचोकमा खटिएका सुरक्षाकर्मीले सवारीसाधन चेकजाँचमा कडाइ गरिरहेका छन् । शुक्रबारदेखि विभिन्न ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिएपछि उपत्यकामा यातायातका साधनको चाप बढेको थियो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लकडाउन खुकुलो बनाइएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि गृह मन्त्रालयले सबै पास रद्द गर्ने निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिने गरी देशभर सर्कुलर जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि यसअघि जारी गरिएका सम्पूर्ण अन्तरजिल्ला पास खारेज गरेको छ ।
सरकारले कोरोनाको संक्रमण न्यूनीकरणका लागि भन्दै आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन जारी गरेको छ। लकडाउन जारी रहेपनि कोरोना संक्रमित फेला पर्ने क्रम रोकिएको छैन । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २४६ पुगिसकेको छ ।