काठमाडौं । महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेको आदि विषयलाई लिएर राजधानीमा सर्वसाधारण विरोधमा उत्रिएका छन् । कोरोनाभाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिकस्तरमा असन्तुष्टि बढ्दो छ ।
पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए । युवाहरुको प्रदर्शन अहिले पनि जारी छ । सर्वसाधारण शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनमा उत्रिदा सरकार भने त्यसलाई दमन गर्न बल प्रयोगमा उत्रिएको छ ।