चितवनः भरतपुर अस्पतालमा रहेका १९ जना कोरोना संक्रमित एकैसाथ डिस्चार्ज भएका छन् । उनीहरु मध्ये तीन जनाको पिसिआर नतिजा नेगेटिभ आए पछि डिस्चार्ज गरिएको हो भने अन्यको १४ दिन कटेर लक्ष्यण नदेखिएकाले डिस्चार्ज गरिएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ रहेका छन् । उहाँका अनुसार डिस्चार्ज भएका मध्ये सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज जाँदै छन् ।
यस अघि अस्पतालबाट उपचार पाएर ९ जना संक्रमित फर्कीएका थिए । एकजनाको मृत्यु भएको थियो । हाल सम्म भरतपुर अस्पतालमा कोरोना संक्रमण भएका ४० जनाले उपचार गरेको उहाँले जानकारी दिनुभयो । उनीहरुले भरतपुर अस्पताल र कोरोना अस्पतालबाट उपचार लिएका हुन । अस्पतालमा डिस्चार्ज पछि ११ जना उपचाररत रहेका छन् अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार लक्ष्यण नदेखिएका र १४ दिन कटेकाहरुलाई आज घर पठाउन लागिएको हो । उनीहरुलाई थप १४ दिन सम्म घरमा छुट्टै बस्न भनिएको छ ।
हाल अस्पतालमा संक्रमित राखिएको ठाउँ जाने बाटो र स्थान सुरक्षित एबं अलग्गै भएकाले अन्य बिरामीले सहज उपचार पाईरहेका छन् । अध्यक्ष अधिकारीले भन्नुभयो “संक्रमित छुट्टै भएकाले उपचार गर्न आउनेहरु सबै सुरक्षित छन् ।” भरतपुर अस्पतालमा चितवन सहित १९ जिल्लाबाट बिरामीहरु उपचारका लागि आउने गर्दछन् ।