काठमाडौं । शनिबार बाराको सीमरा, डुमरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवले पुष्टि गरेका छन् । उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेकाे छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् ।

यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो । फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।

हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ । यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलह कीराजस्तै देखिने कीरा तराईका केही जिल्लामा भेटिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक टोली खटाएर अध्ययन शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस !