
–विरोध अधिकारी :
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना प्रजातिको भाइरसको कारण हुने रोग कोभिड १९ (COVID-19) को कारण विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्ध पछिको सवैभन्दा नराम्रोसंग प्रभावित भएको छ । भाइरसको फैलावट रोक्नको लागि गरिएको लामो लकडाउनको कारण विश्वका ठूला सम्पन्न अर्थतन्त्र पनि यतिवेला संकटग्रस्त छ । विश्वका ठूला अर्थतन्त्रहरु पनि यो मन्दिबाट कसरी निस्कन सकिन्छ भन्ने विषयमा अलमलमा परेको देखिन्छ । पहिलो पटक अर्थतन्त्र भन्दा जनताको ज्यान बचाउनु पहिलो प्राथमिकतामा राखेका सबै देशहरुले अहिले अर्थतन्त्रलाई प्रथामिकता दिदै लकडाउन क्रमशः खुकुलो बनाउदै गईरहेका छन् ।
नेपालले पनि ८० दिन भन्दा लामो लकडाउनलाई असार १ गते बाट केहि खुकुलो बनाएको छ तथापि सार्वजानिक सवारीसाधन नचल्ने र हावाई उद्योग पनि ठप्प हुँदा लकडाउनको प्रभाव आर्थिक कारोबारमा परिरहेको छ । यसै पनि संकटको दिशामा रहेको नेपाली अर्थतन्त्रलाई कोभिडको कारणले झनै लथालिंग बनाएको छ । नेपाल सरकारको बेवस्थाको कारण निजि क्षेत्रले आत्मबल गुमाएको छ । बैंकको ब्याज, अन्य साधारण खर्च धान्न नसक्दा कैयौ ब्यवसायीहरु पलाएनको अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले चैत मसान्तमा तिर्नुपर्ने
साँवा ब्याजको रकम असार मसान्त सम्म सार्ने बाहेक निजि क्षेत्रलाई प्रत्यक्ष राहत पुग्ने कार्य केहि पनि गरेको देखिदैन ।
नेपाली अर्थतन्त्रको बृद्धिदर सन् २०१८ मा ६.७ प्रतिशत र सन् २०१९ मा ७.१ प्रतिशत रहेको थियो भने विश्व महमामारीको कारण २०२० को आर्थिक बृद्धिदर २.८ प्रतिशतमा खुम्चने अनुमान गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७६÷७७ को आर्थिक बृद्धिदर २.३ प्रतिशत हुने अनुमान गरिएको छ भने आगामि आर्थिक वर्ष २०७७÷७८ को लागि ७ प्रतिशतको महत्वकांक्षी आर्थिक बृद्धिदरको लक्ष्य लिईएको छ । कोभिडको कारण अर्थतन्त्रमा कहिले सम्म प्रभाव रहन्छ र कहिलेबाट सामान्य अवस्थामा फर्कन्छ अहिले नै भन्न सकिने अवस्था नभएकोले आज नै नेपालको अर्थतन्त्रलाई कसरी प्रभाव पार्ला अनुमान गर्न सकिने अवस्था नभएकोले सरकारले लिएको लक्ष्यलाई लिएर टिका टिप्पणी गर्न छिटो हुनेछ । तथापि सरकारले लिएको ७ प्रतिशतको लक्ष भेट्न भने फलामको चिउरा चपाउनु सरह हुने छ ।
नेपाल सरकारका जिम्मेवार ब्यक्तिहरु नै यो समस्या छिट्टै समाधान हुने कुरा गरिरहेका छन् । वास्तवमा हेर्ने हो भने कोभिडको समस्याको गहिराईमा हामी पुगेका नै छैनौं । यसको प्रभाव कति समय सम्म रहन्छ, त्यसको विषयमा हामी अनविज्ञ नै छौ । विश्वको आर्थिक परिदृष्य कस्तो हुन्छ ? अहिल्यै आंकलन गर्न सकेका छैनौ । तथापी कोभिडको प्रभाव हाम्रो अर्थतन्त्रमा कस्तो र कसरी पर्न सक्छ सो विषयमा सामान्य परिचर्चा गर्ने प्रयास गरिएको छ ।
नेपाल सरकारले गत चैत्र ११ देखि गरेको देश ब्यापी लकडाउनको कारण नेपाली अर्थतन्त्रका सवै चरहरु ठप्प भए । अति आवश्यक वाहेकका सवै उद्योग धन्दा, ब्यापार ब्यवसाय ठप्प हुँदा ठूला घरानाका ब्यापारी देखि दैनिक ज्याला मजदुरी गरेर खाने मजदुर सम्म प्रभावित रहे । आर्थिक चक्र ठप्प रहे । यो अवस्थामा प्रभावित नभएको कुनै क्षेत्र नै रहेन । कोभिडले हाम्रो अर्थतन्त्र आन्तरिक र बाहिय दुवै तिरबाट प्रहार गरेको छ र त्यसको प्रभाव लामो समय सम्म पर्ने देखिएको छ ।
कोभिडको कारण हरेक ब्यक्तिको खरिद ब्यवहारमा प्रभाव पारेको छ । उनीहरु आफ्नो भविश्य प्रति चिन्तित देखिएका छन् । यसले हरेक प्रकारका सामानहरुको मागमा प्रत्यक्ष प्रभाव पार्ने छ । उत्पादनमुखी उद्योगहरुले उत्पादन कटौति गर्दा त्यसले कतिपय ब्यक्तिहरुले रोजगारी गुमाउनु पर्ने छ । यसले झनै समाजमा आर्थिक अभावको जन्मदिने छ र आर्थिक गतिविधिमा सिथिलता आउने छ । घरेलु तथा साना उद्योग, कृषि उत्पादनहरु लगाएतको ब्यवसायमा मन्दि आउँदा त्यसले अर्थतन्त्रलाई मन्दि तर्फ धकेल्ने छ । यो भन्दा पनि विषम अवस्था सेवा उद्योगमा परिरहेको छ र लामो समय सम्म पर्ने स्थिति देखा परेको छ । कोभिडको कारण हावाई उद्योग, होटल ब्यवसाय र पर्यटन संग सम्बन्धि सम्पूर्ण ब्यवसाय सुन्यमा झरेको छ । यो अझै अनिश्चित समय सम्म रहिरहने अवस्था देखिएको छ भने अवको केहि वर्ष बाह्य पर्यटनको वहाव पक्कै देखिने छैन ।
नेपालको कुल ग्राहस्त उत्पादनमा करिव ५७ प्रतिशत योगदान यस्तै सेवा क्षेत्रको छ भने नेपालको तेस्रो ठूलो उद्योग पर्यटन उद्योग हो । पर्यटन उद्योगले करिव १४ लाख ब्यक्तिहरुलाई रोजगारी दिएको आकडा रहेको छ । पर्यटन उद्योगले अव उल्लेख्य रुपमा रोजगारी कटौती अवश्य गर्ने छ । यसले यसै पनि बेरोजगारीले थलिएको अर्थतन्त्र झनै भयावह अवस्थामा पुग्ने छ ।
एकातिर उत्पादन कटौति, रोजगारी कटौती त छदैछ, त्यो भन्दा पनि अवका दिनमा सरकारले यस्ता उद्योगहरुबाट प्राप्त गर्ने राजश्व भारी मात्रामा गुमाउने छ । सरकारलाई आगामि दिन कोभिडको कारण स्वास्थ्य क्षेत्रमा साधारण खर्च बढाउनु पर्ने दबाब छ भने अर्को तर्फ लिईएको बृद्धिदर भेट्टाउन गौरवका योजनाहरुलाई पनि निरन्तरता दिनु पर्ने छ । सरकारको साधारहण खर्च धान्न समेत आन्तरिक आम्दानीले नभेट्दा साधारण खर्चको लागि पनि सरकार ऋण उठाउन वाध्य पर्ने छ । त्यसको ब्याज खर्च जस्ता कुराहरुले झनै अर्थतन्त्रको बृद्धिदर अझै संकुचित हुने अवस्था आउन सक्छ ।
नेपालको कुल अर्थतन्त्रको करिव ३० प्रतिशत हिस्सा बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सले धानेको छ । देशको विदेशी मुद्राको पहिलो स्रोत भनेको नै बैदेशिक रोजगारी नै हो । कोभिडको कारणले विश्व अर्थतन्त्र नराम्ररी प्रभावित हुँदा मलेसिया, खाडी मुलुक लगाएत विश्वको सवै देशमा भएका केही नेपालीहरुले रोजगारी गुमाउने पक्का छ । रोजगारी नगुमाएका हरुको पनि आम्दानीमा पक्कै उल्लेख्य कटौती हुने छ । आगामी दिनहरुमा नेपालको अर्थतन्त्रले भोग्नु पर्ने सवैभन्दा ठूलो प्रभाव भनेको नै यहि हो । यसको अलावा नेपाल सरकारले पाइरहेको बाहिय सहयोग समेत आगामी दिनमा घट्ने छ । यसरी सरकार चौतर्फी समस्याहरुको दलदलमा फसेको छ । यस्तो समस्याबाट पार पाउनको लागि सरकार संग विशेष योजनाहरु, राहतका प्याकेजहरु आवश्यक थियो र छ पनि । तर, सरकारको भर्खर सदनबाट अनुमोदन भएको बजेट हेर्दा सरकार त्यति संबेदनशील देखिएको छैन । अर्थमन्त्रीले अर्थतन्त्रलाई भि सेपबाट रिकभरी गर्ने जानकारी दिनु भएको छ तर कसरी गर्ने भन्ने कुरामा मौन हुनु हुन्छ । मै हुँ भन्ने अर्थशास्त्रीहरु समेत थरथरी काँपिरहेको अवस्थामा समेत हाम्रा सरकारका जिम्मेवार ब्यक्तिहरु संवेदनशील हुन नसकेको पक्कै हो ।
समस्याको चाङ ठूलो छ । हामीले पर्यटन उद्योगबाट ठूलो क्षति बेहोर्ने छौं । उत्पादनका क्षेत्रहरुमा उल्लेख्य उत्पादन कटौति गर्ने छौ । अन्य सेवा क्षेत्रमा समेत उल्लेख्य क्षति भौग्छौ । आन्तरिक तथा बैदेशिक रोजगारीबाट भारी कटौति खेप्ने छौ । यसबाट सरकारले आन्तरिक राजश्व गुमाउने छ । विलाशी बस्तुहरुको आयत घट्ने छ । जसको कारण सरकारले भन्सार आम्दानी गुमाउने छ । यसरी समस्याको दलदलमा फसेपनि यसले हामीलाई आजसम्मको गल्ति सच्चाउने अवसर पनि संगै प्रदान गरेको छ ।
हामी कृषि प्रधान देश भनिरहँदा खाद्यन्न, तरकारी देखि हाम्रो भान्साको सवै सामाग्री आयत गरिरहेका छौ । आत्मनिर्भर भन्ने कुनै पनि वस्तुमा छैनौं । हुँदा हुँदा गुन्द्रुक समेत हामी आयत गर्ने भइसकेका छौं । पहाडी क्षेत्रका प्राय सवै खेतवारी बाँझो भईसकेका छन् । हाम्रो प्राकृतिक सम्पतिहरु जल, जमिन र जंगलको समुचित प्रयोग गर्ने अवसर कोभिडले दिएको छ । सरकारले स्वास्थ्य वाहेक कुराहरुलाई थाति राखेर अहिले बेरोजगार युवाहरुलाई जल, जमिन र जंगलको प्रयोग गरि उत्पादनमा जोड्न सक्ने हो भने अवको केहि वर्षमा हामीले उल्लेख्य रुपमा आयात कटौति गर्न सक्छौं ।
आयत गर्न लाग्ने खर्च देशको भौतिक निर्माणमा लगाउन सक्छौं । हाम्रा गौरवका योजनाहरुमा आवश्यक मानव स्रोत यहि बेरोजगार युवाहरुलाई लगाउन सके विदेशीले लैजाने रेमिटेन्स जोगाउन सकिन्छ । अर्थतन्त्रमा सेवा क्षेत्रको भागलाईलाई उत्पादन क्षेत्रले प्रतिस्थापन गर्न सक्ने हो भने त्यसले रोजगारी बढाउनुको साथै अर्थतन्त्रलाई आत्म निर्भर बनाउन सहयोग पुर्याउने छ । समस्या जसरी आएको छ, यसले सामाधानका उपायाहरु पनि संगै सकियो भने हाम्रो अर्थतन्त्र बलियो हुने छ । आत्मनिर्भर उन्मुख हुनेछ । २०७२ सालको भुकम्प र नाकाबन्दीले सिकाएको पाठ जस्तै विर्सने हो भने घुमिफिरी रुम्झाटार भने झै हुनेछ । देशको अर्थतन्त्रले ट्रयाक गुमाउनेछ ।
-birodhji@gmail.com
Twitter: @birodhji