
:लक्ष्मीप्रसाद पंगेनी :
शुद्ध छैन आहार विहार, अनि छैन विचार
असन्तुलित जीवनशैली, शरीर भरि विकार ।
प्राचिनकालमा हाम्रा पुर्खाहरुको आहार अर्थात भोजन सात्विक र शुद्ध थियो । उनीहरुको विहार अर्थात् दिनचर्या एवं दैनिक जीवन पनि अत्यन्त सरल थियो । त्यही शुद्ध आहार र विहारका कारण उनीहरु स्वस्थ एवं दीर्र्घिजवी थिए । उनीहरुको कर्म एवं विचार पनि सकारात्मक थियो । तर अहिले समय बदलिएको छ । आधुनिकता तथा भड्किलो जीवनशैलीकाका कारण अहिले मानिसमा विभिन्न समस्याहरु देखा परेका छन् ।
आधुनिक मानिसका आहारमा कुनै शुद्धता छैन, खानेकुराहरुमा विषादी मिसिएको छ । उनीहरुको विहार अर्थात जीवनशैली पनि एकनासको छैन । उठ्ने, काम गर्ने, खाने तथा सुत्ने कुरामा कुनै तालमेल छैन । जसरी भए पनि पैसा कमाएर सुखमय जीवन बिताउनु छ । पैसाको लागि उनीहरु जे पनि गर्न तयार छन् । मानिसमा सन्तुष्टि छैन । कर्ममा विश्वास छैन । अरुको मात्र राम्रो देख्ने प्रवृति छ । जसका कारण उनीहरुमा छटपटी, नैराश्यता जस्ता मानसिक समस्या देखिनुका साथै विभिन्न नसर्ने रोगहरुले सताएको पाइन्छ । मिठो र स्वादिलो मानेर खाएका खानेकुराले मानिसलाई गलाइरहेको छ ।
आधुनिक खाना बन्द विष बनेको छ । आहार, विहारमा आएको परिवर्तन कै कारण विश्वमा विभिन्न प्राणघातक रोगहरु देखा परेका छन् । असन्तुलित आहार एवं विहारका कारण मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति दिनप्रतिदिन क्षीण भैरहेको छ । सानो सानो रोगको जीवाणुसँग प्रतिरोध गर्न नसक्दा मानिसहरुले अकालमा ज्यान गुमानु परेको छ । यस आलेखमा हामीले सेवन गरिरहेका आहार (खाना) कस्तो छ ? हाम्रो जीवनशैली कस्तो छ ? र आहार तथा विहारले हाम्रो विचारमा कस्तो प्रभाव पारेको छ ? जीवनशैलीलाई कसरी सुधार्ने ? आदि विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।
आफ्नो मन, चित्त वा विचारमा परिवर्तन ल्याउनुलाई डा. योगी विकासानन्दले ‘मनोक्रान्ति’ भन्नुहुन्छ । मन वा चित्त भनेको मानिसको विचार हो । हाम्रो जस्तो आहार र विहार हुन्छ, विचार पनि उस्तै हुन्छ । यदि हामीले राजसी र तामसी भोजन गर्छौं भने हाम्रो विचार पनि सोही किसिमको हुन्छ । बढी अमिलो, पिरो, चिल्लो, गुलियो, मसलेदार मासु माछा, मादक पदार्थ लगायत स्वादिलो भोजनलाई राजसी र तामसी भोजन भनिन्छ । मांसाहारी जनावर स्वभावैले ह्रिंसक हुन्छन् । तर शाकाहारी प्राणी शान्त, सरल तथा सोझा हुन्छन् । मांसाहारले हामीलाईसमेत ह्रिंसक बनाउने हुँदा हाम्रो विचार पनि नकारात्मक हुन्छ । त्यही नकारात्मक विचारले मानिसलाई समस्यामा पार्दछ । सकेसम्म सात्विक भोजन गर्नुपर्छ ।
सामान्य दाल भात, तरकारी, गहुँ, मकैको परिकार, सागसब्जी, दुध, फलफूल आदि समावेश भनेको भोजन सात्विक भोजन हो । यस्तो भोजनले हाम्रो विचारलाई सकारात्मक बनाउन सहयोग गर्दछ । विचार सदैब सकारात्मक हुन जरुरी छ । सकारात्मक विचारको लागि शाकाहार हुन जरुरी छ । नकारात्माक विचारले हामीलाई कहिले पनि भलो गर्दैन । जब तपाई हरेक कुरामा शंका उपशंका गर्नुहुन्छ, तब तपाईको शरीरमा उर्जा कम हुन्छ । काम गर्ने जोस जाँगर हराएर जान्छ । शंका कै भरमा मनमा अनेक विचार आउँछ । अन्ततः तपाई रोगको शिकार बन्न पुग्नुहुन्छ । भनिन्छ, मानिसका सबै रोग र समस्याहरुको कारण मन नै हो । मानौं तपाईलाई कुनै रोग लाग्यो । अनि तपाई खिन्न देखिनुहुन्छ । अब उपचारमा कति खर्च लाग्ने हो, निको हुने होकी होइन भन्ने जस्ता नाना तरंग तपाईको मनमा आउन सक्छ ।
‘म रोगी भएँ, अब मैले के गर्न सक्छु र ? अब मेरो मृत्यु नजिक आयो ‘जस्ता तर्कना तपाईका नकारात्माक विचार हुन् जसले तपाईलाई कमजोर र निराश बनाउदै लान्छ ।’ त्यसको ठिक विपरित यदि तपाईले ‘हिजो म रोगी थिइन, आज रोगी भएँ । यो रोग कहाँबाट आयो ? जीवनमा मैले के के गल्ति गरें ? मेरो आहार विहार कै कारण यो रोग लागेको हो । हिजो नभएको रोग आज लाग्यो, भोली नरहन सक्छ ।
हिजो नभएको कुरा आज हुनु र आजका कुरा भोली नहुनु प्राकृतिक नियम हो । हिजो जानी नजानी गरेको गल्तिले आज रोग लाग्यो । अब रोग निको होला नहोला तर म विगतको गल्ती सच्याएर खुसी र आनन्दसंग बाँच्छु । संसारका सारा प्राणी खुसी छन् । म किन दुखि हुने ?’ जस्ता तर्क तपाईका सकारात्मक विचार हुन् । यस किसिमको सकारात्मक विचारले साच्चै नै तपाईको रोग निको हुनसक्छ । सकारात्मक विचार सन्तुलित आहार तथा विहारबाट नै पैदा हुन्छ । सात्विक अर्थात शाकाहारी भोजन सेवन गरेर हेर्नुस । परिणाम आफै प्राप्त गर्नुहुन्छ ।
त्यस्तै यदि तपाई लक्का जवान पुरुष युवा हुनुहुन्छ । एक दिन सुनसान बाटोमा एउटी राम्री युवती डराई डराई हिडेको देख्नु भयो । यस्तो अबस्थामा तपाईले दुई कुरा गर्न सक्ने अवस्था देखिन्छ । एक– जिस्काउने, मनमा कामुक भावना तरंगित गर्ने वा त्यस्तै त्यस्तै …। दुई– यी पनि मेरी दिदी, बहिनी वा छोरी जस्तै हुन् । कुनै काम विशेषले हिडेकी होलिन् वा वास्ता नगर्नु । तपाईको पहिलो विचार नकारात्मक हो भने दोश्रो सकारात्मक । तपाईले पहिलो विचार अनुसार कार्य गर्नु भयो भने तपाई पक्कै पनि समस्यामा पर्नु हुन्छ । पहिलो विचारको कारण समाजमा महिला हिँसा, वलात्कार जस्ता जघन्य अपराध घटिरहेको छ ।
यदि तपाईले दोश्रो विचार अनुसार व्यवहार गर्नु भयो भने तपाईको मानसम्मानमा कुनै आँच आउँदैन । दोश्रो विचार जस्तै सबै मानिसले आफ्नो विचार सकारात्मक बनाई सोही अनुसार व्यवहार गरे भने, के समाजमा हत्याहिँसा हुन्छ ? अपहरण अनि वलात्कार हुन्छ ? पक्कै हुँदैन । प्रसिद्ध साहित्यकार झमक घिमिरेले ‘म अपांग छु, म महिला, मैले के नै गर्न सक्छु र’ भनेर नकारात्मक सोच राखेर बसेको भए आज उहाँ गुमनाम नै रहनु हुन्थ्योहोला । क्यान्सर, एड्स जस्ता रोगलाई जितेर खुसी बाड्दै हिड्ने, पुस्तक लेखेर आफ्ना अनुभव साट्ने, खोज अनुसन्धान गर्ने अनेक मानिसहरुको बारेमा हामीले समाचार सुने कै त छौ नि, हैन र ? अनि हामी किन दुखि हुने ? किन नकारात्मक विचार राख्ने ?
अर्र्कोितर तपाईको आफ्नै मन वा विचार तपाईको बस (नियन्त्रण) मा छैन ।
तपाईको मन तपाईको नियन्त्रणमा हुनुपर्छ । तपाईले भनेको कुरा तपाईको मनले मान्नुपर्छ । यदि तपाईले भनेको कुरा तपाईकै मनले मान्दैन भने तपाईले भनेको कुरा अरुले मान्लान् ? तपाईका परिवारले मान्लान् ? अवश्य मान्दैनन् । यदि तपाईले भनेको कुरा अरुले पनि मानुन् भन्ने चाहनुहुन्छ भने पहिले तपाईले भनेको कुरा आफ्नो मनले मान्ने बनाउनुस् । शरीरलाई अहित हुने भोजन सेवन नगर्नुस् । सदैब रितकारी (मौसम अनुसारको), मितकारी (सुपाच्य) तथा हितकारी (शरीरलाई हित हुने) खालको भोजन सेवन गर्नुस् ।
जीवनलाई तेजस्वी बनाउन तथा जीवनमा सफलता प्राप्त गर्न मन, चित्त वा विचारलाई आफ्नै नियन्त्रणमा राखी सकारात्मक बनाइदिनुस् । यसरी आफ्नो मन, चित्त वा विचारलाई सदैब सकारात्मक बनाउन आहार र विहारमा सन्तुलित हुनैपर्छ ।
जस्तो अन्न उस्तै मन हुने भएकोले आहारमा ध्यान दिनैपर्छ । आहार र विहारलाई सन्तुलित बनाउने तथा विचारलाई सकारात्मक बनाउने एक मात्र विधि हो– योग, ध्यान र प्राणायाम । नियमित योग, ध्यान तथा प्राणायामबाट मात्र जीवनमा सिद्धि प्राप्त गर्न सकिन्छ । सफलता प्राप्त गर्न सकिन्छ । निरोगी भै स्वस्थ जीवन व्यतित गर्न सकिन्छ । आफै भित्र खुसी र आनन्द प्राप्त गर्ने बाटो खुल्छ । मानव जीवनको अर्थ बुझ्न सहज हुन्छ । हाम्रा कर्महरु सकारात्मक हुन्छन् । जीवनमा केही राम्रो कार्य गर्ने प्रेरणा मिल्छ ।
जस्तो हुन्छ आहार विहार, उस्तै हुन्छ विचार
शाकाहारी भोजन नै हो, जीवन जिउने आधार ।
त्यसैले आजैबाट आफ्नो आहार, विहार तथा विचारलाई परिवर्तन गरौँ । अब हामीले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न ढिला गर्न हुदैन । जीवनशैलीलाई बदलेर मात्र समाज, राष्ट्र अनि संसारलाई बदल्न सक्छौं ।