काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित छ सदस्यीय कार्यदल अनुमोदन गरेको छ । बैठकमा कार्यदलबारे छलफल भई त्यसलाई सकारात्मक रुपमा लिई अनुमोदन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । कार्यदलले चाँडै प्रतिवेदन पेश गर्ने उहाँले बताउनुभयो । “पार्टीको सङ्कट निवारणका लागि विधिसम्मत ढङ्गले काम गर्दा सहज हुने भन्दै उहाँले सचिवालयबाटै कार्यदल गठन गरेको भए अझ राम्रो सन्देश जान्थ्यो” भन्नुभयो । “पार्टी एकतावद्ध हुने, सङ्कटको निवारण हुने र पार्टी महाधिवेशनतिर जाने विषयमा केन्द्रित छ, कार्यदलले सोही विषयमा गृहकार्य गरेर प्रतिवेदन तयार गर्नेछ ।

साउन ३० गते शुक्रबार गठन भएको छ सदस्यीय कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरू शङ्कर पोखरेल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुषाल सदस्य हुनुहुन्छ । नेकपा सचिवालयमा अध्यक्षद्वय ओली र दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य हुनुहुन्छ । सचिवालय बैठक बिहान ९ः३० बजेदेखि बालुवाटारमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस !