ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा रहेको चण्डेश्वरी फ्लोरिकल्चरमा फार्मका फूलले बजार नपाएपछि व्यवसायी चिन्तित बनेका हुन् ।

उत्पादन भएर बजारीकरण गर्ने बेलामा कोरोना भाइरस महामारीका कारण बन्दाबन्दी भएपछि फूल ग्रीन हाउसमा नै सुकेर गएको फार्म सञ्चालकले बताए । बनेपाका युवा व्यवसायी विकास वादे, प्राणनाथ कायस्थ र कान्छा मानन्धरले शुरु गरेको पुष्प व्यवसाय फस्टाएपनि बेच्ने बेलामा कोरोनाको महामारीसँगैको बन्दाबन्दीले फूल सुकेर गएको बताए ।

काभ्रेपलाञ्चोकमा उत्पादन भएको फूलको माग काठमाडौँको बजारमा राम्रो भएको कारण पछिल्लो समयमा जिल्लामा फूल उत्पादन गर्ने पुष्प व्यवसायी बढेका थिए । फार्म सञ्चालक प्राणनाथ कायस्थले भने, “अरुले खेती गरेको देखेपछि साथी मिलेर गरेको खेती राम्रो भएको थियो, बन्दाबन्दीले बजारसम्म लान पाइएन”, उनले भने, “लगानी गर्नुमात्रै भयो ।” तीन जना मिलेर करिब ४० लाख लागतमा १२ वटा ग्रीन हाउस बनाएर खेती गरेको तर बजार लान नपाउँदा घाटा व्यहोर्नुपरेको अर्का सञ्चालक विकास वादेले बताए । बन्दाबन्दी असार र साउनमा डेढ लाखसम्मको फूल बेचेको भएपनि त्यसले ज्याला समेत नउठेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !