
काठमाडौं । केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश हुनुभयो । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडालाई ढाडस दिएर भन्नुभयो, ‘यो आक्रोश मप्रतिको हो ।’
कस्तो अचम्म भने, एउटा गैरराजनीतिक र नोकरशाह पृष्ठभूमिको मान्छेलाई टपक्कै टिपेर साढे दुई वर्ष देशको अर्थमन्त्री बनाइदिनु, अनि ऊ हट्ने स्थिति भएपछि सम्बन्धित व्यक्तिले व्यक्त गर्नुपर्ने आभारीका शव्द उल्टै प्रधानमन्त्रीका तर्फबाट आउनु † यस्तो संवाद सुनेर केटाकेटीदेखि नै राजनीति गर्दै त्यही क्याबिनेटमा मन्त्री भएर गएका नेताहरूले दिक्क मान्ने नै भए । एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा भनेझैं व्यक्त गर्न नमिल्ने, तर डा.खतिवडाको तारिफ गर्ने प्रधानमन्त्रीका शव्द–शव्द सुनेर मन्त्रीहरू उदेकलाग्दो अनुहार बनाइरहेका थिए ।
राजीनामा त यसअघि प्रधानमन्त्रीका प्रियपात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । युवराज हेरी गोकुल, शेरबहादुरहरू कता हो कता राजनीतिक मान्छे ! गुच्चा खेल्ने उमेरदेखि नै राजनीतिमा लागेका यिनीहरूको राजीनामाप्रति प्रधानमन्त्रीले त्यस्ता कुनै सहानुभूतिको शब्द खर्चिनुभएन तर युवराजको राजीनामाले उहाँलाई निकै नै पोलेजस्तो बुझिन्थ्यो, उहाँकै शब्दबाट ।
प्रधानमन्त्रीले युवराजतिर हेरेर भन्नुभयो, ‘देशको आर्थिक उन्नति हुन नदिन, राजनीतिक स्थायित्व कायम रहन नदिन, समृद्ध नेपाल, सुखी नेपाली देख्न नचाहनेहरूको खेल हो यो । तपाईंको केही दोष होइन । अरुतिरबाट नसकेपछि मलाई घेराबन्दी गर्न यस्तो गरियो । चिन्ता नगर्नुस्, तपाईंको आवश्यकता अहिले पनि राष्ट्रलाई छ ।’ त्यसक्रममा प्रधानमन्त्रीले तीनपटक नामै किटेर ‘धन्यवाद’ शब्द दोहो¥याउनुभयो ।
युवराजलाई त्यति भनिसकेपछि बल्ल अरु मन्त्रीहरूतिर हेर्नुभयो । र, भन्नुभयो, ‘तपाईंहरूले पनि कुनै चिन्ता नलिई काम गर्नुप¥यो । मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर निक्कै ठूलो हल्ला फिँजाइएको छ । तपाईंहरूलाई पनि आज हो कि भोलि भन्ने परेको होला । तर, त्यस्तो कुनै चिन्ता नलिनुस् । आ–आफ्नो मन्त्रालयमा ध्यान दिएर काम गर्नुस् । हल्ला गरिएजस्तो आजैभोलिमा मन्त्रिपरिषद् हेरफेरको कुरा हुँदैन । खालि भएको मन्त्रालयमा अर्को मन्त्री पठाउने वा के गर्ने भनेर एउटा निर्णय होला । योबाहेक पूरै क्याबिनेट नै फेरिन्छ भन्नेखालका हल्लाहरूमा सत्यता छैनन् ।’
यति भनिसकेपछि बल्ल बैठक एजेण्डाहरूमा प्रवेश ग¥यो । सोही क्रममा पनि प्रधानमन्त्री प्रतिक्रियात्मक रुपमा पेश हुनुभयो । जस्तो कि, एजेण्डाभित्र एमसिसीको नियमावली पनि थियो । राजीनामा दिइसकेका अर्थमन्त्रीको तर्फबाट एजेण्डा टेबुल हुनासाथ प्रधानमन्त्रीले ध्यान दिएर प्रस्ताव पढ्नुभयो र भनिहाल्नुभयो, ‘पढ्दै नपढी मान्छेहरू विरोध गर्छन् †’ एकछिन अड्किएर फेरि गुन्गुनाउनुभयो, ‘के भनौँ र ? यस्तो कुरा नबुझी पनि मान्छेहरू हल्लाको पछि दौडिएका छन् । यसरी हामी कहाँ जाँदैछौँ ?’