लन्डन। बेलायतको सरकारले कोरोनाभाइरस महामारीको प्रतिरोध गर्न इङ्गल्याण्डमा फेरि कडा नियन्त्रणको उपाय (बन्दाबन्दी) गर्न सकिने बताएको छ । हरेक हप्तामा अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीले उक्त सम्भावनालाई उल्लेख गर्नुभएको हो ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा उहाँले भन्नुभयो, “हामीले राष्ट्रियरूपमा बन्दाबन्दी (लकडाउन) गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।” “हामी ज्यान बचाउने र जीविकोपार्जनका उपायलाई सहज पार्ने दुवै विकल्पका लागि तयार छौं,” उहाँले भन्नुभयो । शुक्रवारदेखि उत्तरपूर्वी इङ्गल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी उहाँले दिनुभएको हो ।

बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ र कोभिड–१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको छ ।
गत अप्रिलदेखि थप सङ्क्रमितको सङ्ख्या उच्च रहेको थियो । यद्यपि बिचमा सङ्क्रमण पुष्टिका घटनामा निकै कमी आएको भएपनि पछिल्ला केही हप्तादेखि यो सङ्ख्यामा उच्च वृद्धि देखिएको छ ।

ह्यान्ककले भन्नुभयो, “हामीले दुःखको साथ यो पनि देख्यौं कि कोरोनाभाइरसका साथ अस्पतालमा भर्ना भएका व्यक्तिहरूको सङ्ख्या हरेक आठ दिनमा लगभग दोब्बर हुँदैछ, त्यसैले हामीले नियन्त्रणका कार्य गर्नु आवश्यक छ ।” नर्दम्बरल्याण्ड, उत्तर र दक्षिण टाईनेसाइड, न्यूक्यासलको टाइन क्षेत्र, गेट्सहेड, र काउन्टी डरहममा २० लाख भन्दा बढी मानिसहरूलाई असर पार्ने सामाजिक दूरी कायमसहितका उपायका कडा विकल्पलाई लागू गरिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस !