
काठमाडों । ‘नाक’ लाई ‘श्वास फेर्ने प्वाल’ नभनेर नाकै भन्ने निर्णय गरेको छ, नेकपाले । अर्थात्, नेकपा (माओवादी) को नेतृत्वमा १० वर्षसम्म चलेको जनयुद्धलाई पार्टीका अभिलेखहरूमा अब ‘सशस्त्र संघर्ष’ नभनी जनयुद्ध नै मानिने सहमति बनेको छ । गत भाद्र २६गते शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले लिएका प्रस्ताव र निर्णयहरूलाई अन्तिम रुप दिएर निर्देशिका तयार पार्ने र सर्कुलरका रुपमा पार्टीव्यापी जारी गर्ने क्रममा ‘जनयुद्ध’ शव्दको प्रयोग हुने भएको हो । यसअघि पूर्वएमाले र कांग्रेससहित गैरमाओवादी संगठनले जनयुद्धलाई ‘सशस्त्र संघर्ष’ भन्ने गरेका थिए ।
जनयुद्ध शव्दको प्रयोगमा केही पूर्वएमाले नेताहरूले सहमति नजनाउँदा एकता भएको दुई वर्षसम्म अलमल रहँदै आएको थियो । गत वर्ष जनयुद्ध दिवस (फागुन १) कै दिन रुकुममा पत्रकारहरूको एउटा कार्यक्रममा भाषण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘यो जनयुद्ध के हो ? हामी चिन्दैनौँ । यस्ता गेट बनाएर हामीलाई स्वागत गर्नुपर्दैन’ भनेपछि उनीमाथि मञ्चमै आक्रमणको प्रयास भएको थियो । तर, कार्यक्रमको बीचैमा नेता जनार्दन शर्मा पुगेर झाँको झारेपछि स्थिति केही मत्थर भयो । सूर्य डाँडाँपाखातिर लुक्दै, भाग्दै सुर्खेत झरे ।
तर, शनिबार दुई अध्यक्ष र महासचिवबीचको भेटघाटपछि अब जनयुद्ध शव्दले पार्टीमा औपचारिकता पाएको छ । सरकारको पुनर्गठन, आयोग तथा विभिन्न राजनीतिक नियुक्तिका सन्दर्भमा यसअघि पार्टीको सचिवालय बैठकमा परामर्श गर्ने भन्ने थियो । त्यस मामिलामा सचिवालयको सट्टा स्थायी कमिटीलाई अधिकारसम्पन्न बनाइएको कुरा पनि जारी हुन लागेको सर्कुलरमा उल्लेख भएको एकजना शीर्ष नेताले जनआस्थालाई बताए ।