भेण्टिलेटरबाट २८ दिनपछि फर्केका एक लण्डन निवासी नेपालीको व्यथा

जयराम तामाङ :
मानिसहरु जन्मे पछि मर्नु पर्छ यो प्राकृतिक नियम हो । यसलाई कसैले रोकेर रोक्न सक्दैन । तर उमेर नपुग्दै कसैको मृत्यु भयो भने, त्यो स्वाभाविक मृत्यु हुदैन, त्यस्तो मृत्युको मानिसहरुले जुगजुग सम्झन्छन् । मृत्यु जुनसुकै उमेरको भएपनि सवै परिवारहरुको लागि पीडादायक नै हुन्छ । मृत्यु हुनेले त थाहा नै पाएको हुँदैनहोला, तैपनि उसको आत्मा भने बाँचिरहेको हुन्छ भनेर धर्मशास्त्रहरुमा लेखेको पाइन्छ ।

त्यसैले आजभोलि मानिसहरुले आफ्नो आफन्तहरुको मृत्यु भयो भने सामाजिक सञ्जालहरुमा फोटो राखेर हार्दिक श्रद्धान्जलि दिदै आत्माले शान्ति पाहोस् भनी लेखिएको हुन्छ । मानिसहरुको आत्मा कहिँ न कहिँ गएर बसेको हुन्छ भनेर धार्मिक रुपमा मानिन्छ । अहिले कोभिड १९ ले संसारको धेरै मानिसहरुको परिवारहरुमा बिछोडको पीडा दिइरहेको छ । यसै सन्दर्भमा बाल्यकाल देखिको मेरो एक हितैषी साथीलाई पनि कोभिड १९ ले मृत्युको नजिक पुर्याएर पनि आज सकुशल पाएका छौं । यो घट्ना उहाँको उपचारमा संलग्न चिकित्सकहरुकै भाषामा साच्चिकै चमत्कार भएको छ ।

डाक्टरले मेरो साथीको परिवारलाई फोनमा बाँच्ने आशा एकदम कम रहेको खबर दिइसकेको थियो । स्थिति जे पनि हुनसक्छ तयारीमा रहनु होला भनेर अस्पतालबाट आएको खबर उहाँको परिवारले कसरी थामेर बस्न सक्नु भयो होला, संझदा पनि मलाई अत्यास लागेर आउँछ । मेरो साथी र म बेलायतको स्वीन्डन शहरमा नजिकै घर भएर पनि कामको ब्यस्तताले भेटघाट भने केही हप्ताको अन्तरमा मात्र हुने गर्दथ्यो । तर सधैंजसो हामी गाउँघरको बारेमा फोनमा कुराकानी गर्दथ्यौं । भलाकुसारी गर्दा घण्टौँ समय बितेको पत्तै हुँदैन थियो ।

हामीले एउटै स्कूलमा पढेका थियौं । सानैदेखि हामी असाध्यै मिल्ने साथी थियौं । म र मेरो साथीको आर्थिक स्थिति आकाश र पातालको जस्तै थियो । साथीको धादिङ्गको गजुरी बजारमा ठूलो महल थियो । बाउबाजेदेखि नै नाम चलेको परिवार थियो । साथीको बुवा गाउँको प्रधानपञ्च भइसक्नु भएको थियो । वहाँको लाउने, खाने, हिंड्ने फरक शैलीको भएपनि साथीहरुसंग कुनै भेदभाव गर्ने स्वाभाव थिएन । सधै हासीमजाक गर्ने साथी सारै फरासिलो थियो । यही स्वाभावले उसको धेरै साथीहरु थिए । त्यही मध्ये हामी सँगै एउटै बेन्चमा बसेर पढ्ने साथी थियौँ । सँगै भलिबल पनि खेल्थ्यौं ।

हामी स्कूल सकेर क्याम्पस पढ्नको लागि काठमाडौं आयौं । त्यतिबेला केही समय हाम्रो भेटघाट हुन सकेन । म सरस्वती क्याम्पस पढ्थे । साथी पब्लिक युथ क्याम्पसमा पढ्नु हुन्थ्यो । म बिहान क्याम्पस गएर दिउँसो भने रेष्टूरेण्टमा काम गर्दथें । मैले क्याम्पस पढ्दा पढ्दै केही समयमा होटल सोल्टीमा काम गर्ने मौका पाएँ अनि म लगातार होटलको हेल्थ क्लबमा काम गर्न थालें । उता मेरो साथीले भने होटल एण्ड टुरिज्म रेफ्टिङ्गको आफ्नै व्यवसाय शुरु गरिसकेका थिए ।

म होटलमा काम गरेको केही समयपछि हाम्रो फोन नम्बर एक आपसमा साटासाट भएछ । कसरी भयो मलाई अहिले सम्झना पनि छैन । त्यसपछि हामीहरुको कुराकानी घण्टौंसम्म हुने गर्दथ्यो । जानी नजानी घण्टौंसम्म अँग्रेजीमा कुराकानी गर्दथ्यौं । हाम्रो यो अंग्रजी सिकाईको लागि थियो ।

म होटलमा काम गर्दागर्दै विदेश जाने मौका मिलेकोले चौबिस पच्चीस वर्षको उमेरमै विदेश लागेँ । समयको अन्तराल सँगै हामीहरुको फेरि विचमा करिब एक दशक जति सम्पर्कविहीन नै भयौं । एक दशक जतिको समयमा फेरि अचानक हामी पोर्तुगलमा भेट हुन पुग्यौं । संयोगले भनौँ वा कसरी भनौं हामी एउटै रेष्टुरेण्टमा काम गर्न थाल्यौं । मानिसलाई जता गए पनि सन्तोष नहुने त्यसैले म चाहिँ फेरि त्यहाँबाट अँग्रेजी बोल्ने ठाउँमा जाने भनेर युकेतिर लागेँ ।
म युकेतिर आएपनि फोनबाट कुराकानी भएपनि फेरि हाम्रो पाँच छ वर्ष भेटघाट हुन सकेको थिएन । साथीलाई पनि अँग्रेजी बोल्ने रहर भएर नै होला वहाँ पनि युकेतिरै आउने रहर गर्नुभयो । मैले पनि आउनोस् हामी सँगै बसौँला भनी म बसेको ठाउँमा नै बोलाएँ ।

दुई तीन दिन बिराएर कुरा गरिरहने बानी भएरहोला दुईचार दिन कट्यो भने धेरै दिन जस्तै लाग्थ्यो । सधै एकै घण्टीमा उठ्ने वहाँको फोन एक्कासी एक दिन फोन गर्दा फोन उठेन । कतै ब्यस्त होला कल ब्याक गर्नु हुन्छ होला भन्ने मैले सम्झेँ । तर एक दिन भयो, दुई दिन भयो कल ब्याक भएन । फेरि फोन गरेँ । फोन बन्द थियो । मनमा अनेक शंका उपशंकाहरु उब्जिरहेको थियो ।

मेरी छोरी स्वर्णिमा ग्रेट वेस्टर्न हस्पिटलको आईसीयुमा काम गर्थिन् जहाँ दिनहुँ कोरोना लागेको मानिसहरुलाई सिकिस्त अवस्थमा ल्याइन्थ्यो । कोरोनाको बिमारीहरुको एकदम खचाखच भएर आईसियुमा ठाउँ नपुगेर छुट्टै ठाउँ पनि बनाएको थियो । मलाई कुन दिन हो सम्झना भएन, छोरीको रातिको काम थियो । भोलिपल्ट बिहान करिव आठ बजेतिर छोरी सँधै आउने समयमा घरमा आई पुगिन् । तर म चाहिँ बाहिर एकछिन वाकिङ्ग जान तयार हुँदै थिएँ । छोरीले हस्पिटलको युनिफर्म नै नफेरी एकै श्वासमा भनिन्, “बाबा तपाईले हस्पिटलमा को छ भनेर कल्पना पनि गर्न सक्नु हुन्न” । डराउँदै आत्तिएर सोधेँ को छ ? छोरीले भनिन्, “राममणि अँकल कोरोना लागेर एकदम नाजुक अवस्थामा भेन्टिलेटरमा हुनुहुन्छ” भने पछि म त खंग्ररगं भए । खुट्टा पनि लगलग कामे । के गरौँ के गरौँ जस्तो भयो ।

मलाई विश्वास नै लागेन । राममणिका छोरा परिक्षितलाई फोन गरेँ । प्रायजसो छोराले फोन नउठाउने त्यो दिन कसरी उठाउन पुगेछ । मैले “बाबा कहाँ हुनुहुन्छ” भनेर सोधेँ । “ममी र बाबा बाहिर जानु भएको छ” भने । झन् शंका उपशंकाहरु लाग्न थाल्यो । छोरीले त पक्कै ढाँटेको होइन बरु नेपालमा परिवारहरुले थाहा पाएर पीर गर्लान् भनेर त्यसो भनेको होला भनेर सम्झेँ र मैले खासै केही भनिनँ । भन्नु पनि उचित थिएन । किनभने आफू त्यो ठाउँमा भएको भए कुन अवस्थामा हुन्थ्यो होला भनेर मैले कुनै अनुमान नै गर्न सकिनँ ।

म न भेट्न जान सक्थेँ । न त मैले अरु केही गर्न सक्थेँ । मसँग एउटै मात्र विकल्प थियो प्रार्थना । त्यसैले म घुँडा टेकेर रुँदै मेरो साथीलाई बचाई दिनुहोस् भनेर परमेश्वरलाई प्रार्थना गर्न थालें । मैले अनेक किसिमका विगतका बितेका कुराहरु सम्झन लागेँ । म सोच्दै थिएँ मेरै कारणले साथी यो ठाउँमा आयो, भर्खर नयाँ बिएमडब्ल्यु कार किनेको छ । धेरै चढेको पनि छैन । अहिले त्यस्तो बिमारले भेटायो । सायद यहाँ नआएको भए यस्तो रोगले पो भेट्ने थिएन कि भनेर अनेक कुराहरु मनमा खेल्न थाल्यो ।
मैले साथीको बारेमा धेरै सोचेर होला एक दिन सपनामा राममणिजी नीलो टीसर्ट र खैरो पाइजामा लगाएर मलाई भेट्न आएको देखेँ । अनि मैले सपनामै “तपाईलाई कोरोना कहाँ जाँदा लाग्यो जस्तो लाग्छ” भनेर सोध्दा वहाँले कारमा पेट्रोल भर्न जाँदा लागेको हो” भनेर सपनामा भनेको देख्दा साँच्चै हो कि जस्तो लागेको थियो ।

म बिहान, बेलुका, दिउँसो जतिखेर समय भयो अनि साथीको शीघ्र स्वास्थ्य लाभको लागी प्रार्थना नै गरिरहन्थें । काममा जाने बेलामा पनि कारमा एक्लै हुँदा प्रार्थना नै गरेर जान्थें । राममणिजीको साथीभाइ आफन्तहरुले पनि फोन गर्दा नउठेर होला म नै नजिक छ भन्ने थाहा पाएपछि मलाई धेरै फोनहरु आउन थाल्यो । मैले थाहा नभएको भनेर सबैलाई ढाटेँ । हस्पिटलमा धेरै नेपाली डाक्टर, नर्सहरु भएर होला बिस्तारै साथीहरुले पनि थाहा पाउन थालेपछि मलाई राममणिजीको बारेमा भन्न करै लाग्यो ।

म राममणिजीको घरमा धेरैचोटी ढोका ढक्ढक्याउन गएँ तर ढोका खुलेन । राममणिजीको श्रीमती इन्दु रिजाल छोरा परिक्षितलाई कस्तो होला, केही सहयोग चाहिन्छ कि भन्ने चिन्ता पनि धेरै थियो । मेरो र राममणिजी दुवैको साथी देवेन्द्र श्रेष्ठजी पनि एकदम चिन्तामा हुनुहुन्थ्यो । उहाँ पनि धेरैपटक ढोका ढक्ढक्याउन जानु भएको थियो । अचानक एकदिन ढोका खोल्नु भएछ र उहाँले केही अति आवश्यक कुराहरु किनेर ल्याई दिनुभएको र सन्चै भएको कुरा मलाई सुनाउनु भएपछि मन शान्त भएको थियो । म र मेरी श्रीमती पनि एकदिन फेरी ढोका खुल्छ कि भनेर जाँदा अचानक छोराले हामीलाई तल आएको देखेपछि ढोका खोलिदिएको थियो । मेरो छोरीबाट सबै कुराहरु मैले दिनहँु थाहा पाइराखेको छु । राममणिको स्वस्थ्य राम्रो भएको खबर परिवारलाई सुनाएँ । हामीले के नै गर्न सक्छौं र तिमीहरु पनि एकदम धेरै प्रार्थना गर्नु र केही सहयोग चाहियो भने फोन गर भनेर घर फर्कियौँ ।

छोरीको छुट्टीको दिन बाहेक, प्रत्येक दिन कस्तो छ भनेर अपडेट भने भइरहन्थ्यो । तर बिचमा एकदम सिकिस्त नै भएपछि श्वास फेर्न नसकेपछि घाँटीमा नै प्वाल बनाएर पाईप हालेर त्यहीबाट श्वास फेरिरहनु भएको छ बाबा भनेर छोरीले भन्दा मेरो आशुँ नै आयो । दिनहरु पीडासहित बित्दै गयो २८ दिनको भेन्टिलेटर गरी जम्मा ३८ दिन अस्पतालमा बिताएर घर फर्केको साथीलाई देख्न पाउँदा धेरै हर्षित भएको थिएँ । घर फर्के पछि साथीलाई मैले एउटा प्रश्न गरेँ, “त्यो बेहोस भएको बेलामा के देख्नु भयो वा कस्तो महसुस भयो” ? राममणिले भन्नु भयो, “मैले केही थाहा नै पाइन । म मुर्छित जस्तै भएको थिएँ । ममा कुनै सोच्ने शक्ति नै थिएन । मलाई डाक्टरले तपाइँ एउटा चमत्कार नै भएर बाँचेको होस् भनेर भने” साथीको कुरा सुनेर र्मैले अचम्म मानेँ ।

वहाँले हस्पिटलमा डाक्टर, नर्सहरुले गर्नु भएको माया, सेवा, सुविधाको बारेमा आत्मादेखि नै खुलेर प्रशंसा गर्नु भएको थियो । यति राम्रो हेरचाह सेवा अनि सुविधा आफ्नो घरमा पनि हुँदैन र घर परिवारले पनि गर्न सक्दैन भन्नु भयो ।

साथी भन्नुहुन्छ, “मलाई पहिला मर्नु भनेको केही होइन जस्तो लाग्थ्यो । मेरै आँखाको अगाडि कति धेरै मान्छेहरु मरेको देखेको छु । मलाई खासै डर लाग्दैन थियो तर अब मलाई मृत्युको कुरा सुन्दा साँच्चै डरलाग्छ । त्यसैले अब मैले आफ्नो शरीरको ख्याल राख्नुपर्छ र खानेकुराहरुमा ध्यान दिनु पर्छ । शारीरीक अभ्यासहरु गर्नुपर्छ आफ्नो परिवारहरुसँग समय बिताउनु पर्छ ।” उहाँले आफ्नो जीवन शैलीहरुमा धेरै परिवर्तनहरु गर्नु भएको छ । मलाई लाग्छ जीवनको परिभाषा खोज्नलाई मेरो साथी राममणि रिजालजीसँग गएर सोध्यो भने उत्तर पाउनुहुनेछ । मृत्युको मुखबाट फर्केको मेरो साथीको आयु सयौं वर्ष थपिहोस् । धादिङ्ग गजुरी, हाल बेलायत


सम्बन्धित शिषर्कहरु