केपीको बोली, पीकेको झोली

– संकेत कोइराला ;

एकदिन केपी ओली र पीके दाहाल कतै गइरहेका बेला अकस्मात एउटा भालु देखा परेछ । भालु देख्नेबित्तिकै पीकेलाई कुनै छनक नै नदिई केपी हत्त न पत्त एउटा रुखमा उक्लिए छन् । र हाँगामा छेकिएर बसेछन् । हेर्दाहेर्दै भालु पीके छेउमै आइसकेछ । त्यसैपनि भूमिगत युद्धले खारिएका पीकेलाई सुझेछ– ‘भूईंमा मरे जसरी लम्पसार परेर सुत्यो भने भालुले केही गर्दैन ।’ उनले त्यसै गरेछन् । भालु आएर तलदेखि माथिसम्म पीकेको शरीरका हरेक भाग सुँघेछ । सास पनि रोकेर सुतेका पीकेको शरीर मृत ठानेर भालु केही नगरी बाटो लागेछ । भालु बाटो लागेपछि रुख चढेका केपी तल ओर्लिएर सोधेछन्– ‘भालुले तपाईंको कानमा के साउती ग¥यो कमरेड ?’ रिसले आगो भएका पीकेले जवाफ दिएछन्– ‘भालुले भविष्यमा त्यस्ता साथीहरूसँग नहिँड्न सचेत गरायो, जसले आपत विपतमा सहयात्री, कुल, पितृ सबै बिर्सन्छन् र आफ्नो मात्र स्वार्थ हेर्छन् ।’

नेपाल एउटा यस्तो देश हो, जहाँ जो कसैको इमानप्रति शंका गरिन्छ । हुनपनि भगवानको मूर्ति उपहार दिएर त्यही मन्दिरको गजुर उडाउने संस्कृति हामीले कमाएको स्वधर्म हो । आराध्यदेव पशुपतिनाथ मन्दिर संरक्षण गर्ने संस्थाको हाकिम सरकारले नभएर पशुपति हाताकै बालुवा उधिनेर धनी भएको ठेकेदारले बनाउँछ । बालुवा ठेकेदारले बनाउने हाकिमको असली पशुपतिनाथ को हुन्छ ? आमाको स्याहारमा रहेको र पखेटा पनि उम्रिनसकेको परेवाको बच्चा टँुडिखेलमा ठूला मान्छेको हातबाट उडाएर उत्सवको शुभारम्भ हुन्छ । त्यो अवोध बच्चा एकैछिनमा कागले आहारा बनाएको दृश्य कसैलाई बिझाउँदैन । सरकारी गरिबीको उपचार गाउँको नामुद जँड्याहालाई बाख्रा अनुदान दिएर शुरु हुन्छ । अर्कोपटक निरीक्षणमा जाँदा जाँडको सितनमा बाख्रा स्वाहा भइसकेको हुन्छ ।

अनुदान दिनेले आफ्नो जागिर बचाउन बाख्राले तीनपुस्ता सन्तान उत्पादन गरेको कागजी भर्पाइ बनाउँछ । देशैभरि प्रगति प्रतिवेदनको ठेली बनेपछि कृषिमन्त्री ठाँटिएर संसदमा कुर्लन्छन्– ‘नेपाल खसीको मासुमा आत्मनिर्भर भयो ।’ ताली पड्काउनकै लागि नियुक्त सत्तारुढ ‘रोबोट’हरू टेबल ठोक्छन् । पार्टी सभापतिले सरकारबाट वैध, अवैध कुत आर्जन गरिरहेका कारण प्रतिपक्षलाई यस्ता विषय बालै भएन । स्वर्गद्वारी मन्दिरको बचेखुचेको घरखेत कार्यकर्ताको नाममा दर्ता गराउन कथित भूमि आयोग गठन हुन्छ । कार्यकर्ता भर्तीकेन्द्र बनाउन घर एउटा प्रदेश, बारी अर्को प्रदेश र शौचालय तेस्रो प्रदेशमा पर्ने गरी संघीयताको बीउ रोपिन्छ । ती प्रदेशका मुखिया एकाघरका छोरी, ज्वाईं, सालासाली, भाइ भतिजा र भजनमण्डलीका सदस्य बनाइन्छन् । यसैको परिणाम सरकारको नीति तथा कार्यक्रम आएको चार महिनामा विकास खर्च पाँच अर्ब, साधारण खर्च आधा खर्ब नाघ्छ । कोरोना त अत्तो थाप्ने सजिलो बहाना मात्र हो । जे गर्छ तदर्थवादले गर्छ ।

बदमासी गर्न खेलाडी होइन, नियम सच्याइन्छ । आफूले चाहेको व्यक्ति ल्याउन वा मन नपरेको मानिस मिल्काउन ऐन, नियम, नियमावली तलमाथि गरिन्छ । सिंहदरबारले हात्ती दिने उद्घोष गर्छ, जनताको हातमा कुखुराको चल्ला पुग्छ । हिजो कांग्रेसले वीपीका नाममा सटर खोलेजस्तै आज मदन भण्डारीका नाममा दर्जनौं उत्पादन केन्द्र खोलिएका छन् । ती केन्द्रमा मदनका उपासक नभएर आफू अनुकूलका दास तयार गरिन्छन् । दोष क्रिश्चियनका चर्चले भोगे पनि साँचो अर्थमा दलका गुठीले समाज खण्डित गरेका छन् । सर्वहाराको फूलभित्र सर्वआहाराका झुसिलकिराहरू छ्यापछ्याप्ती छन् । राज्यकोष पेवा ठान्ने, जे ग¥यो त्यो सदर भन्ने मानसिकता हो भने प्रधानमन्त्रीका नाममा ‘किड्नी प्रत्यारोपण ट्रष्ट’, प्रचण्डका नाममा ‘एन्टी रेबिज भ्याक्सिन ट्रष्ट’ स्थापना गरौं । बीना मगर बुहारी नै हुन् मेलम्ची उनकै नाममा पास गरिदिऊँ । त्यसो भए एकाध महिनामै पानी झर्ने पक्का हुन्छ ।

संसार डुबाउने क्षमता राख्ने समुद्रले एक थोपा तेल डुबाउन सक्दैन । जिन्दगी आइसक्रिमजस्तै हो, खाए पनि पग्लिएर सकिन्छ, नखाए पनि पग्लिएरै सकिन्छ । नियमको समस्या सहायक, नियतको समस्या प्रधान हो । संसारमा खरावी हावी हुनुको कारण खराव मानिसको आतंक होइन, असल मानिसको मौनता हो । भारतीय राजनीतिज्ञहरू पाकिस्तानलाई व्यंग्य गर्दै भन्ने गर्छन्– तिम्रो देशले रक्षा बजेटमा छुट्याउने पैसा त हाम्रा देशका केटाकेटीले नेट चार्जमा खर्च गर्छन् । अमेरिकी सरकार नेपालको बजेटभन्दा हजारौं गुना बजेट आइसक्रिम, कुकुर पालन र हिउँ पगाल्ने नून खरिदमा खर्च गर्छन् । यसो भनेर हामी पनि बत्तिन जरुरी छैन । मनमा आग्रह र दम्भ पालिरहनु भनेको अर्कामाथि फ्याँक्ने उद्देश्यले आगोको कोइला हातमा लिनु जस्तो हो । आखिर जल्ने त आफ्नै हात हो । त्यसैले प्रार्थनाअघि विश्वास गर, लेख्नुअघि सोच, बोल्नुअघि सुन, अन्त्यअघि प्रयास गर, खर्च गर्नुअघि कमाऊ र मर्नुअघि बाँच । शिक्षा स्कुलमा भएपनि दीक्षा घरमै शुरु हुने हो । शास्त्र भन्छ– ‘जुन ठाउँमा जीविकाको उपाय, दण्डको भय, लाज, चातुर्य तथा त्याग भाव छैन । त्यस्तो ठाउँमा बस्न उचित छैन ।’ हाम्रो धर्तीलाई यही सत्यको नजिक पु¥याउन सबैको राष्ट्रिय समझदारी छ ।

जब सरकारी नूनमा नेताहरूको सम्झौता बाक्लिँदै जान्छ, त्यसपछि इमानका पखेटा काटिँदै जान्छन् । कार्यकर्तामा विग्रह बढ्दै जान्छ । जसरी फलामभित्रको खियाले फलाम सिध्याउँछ, त्यसरी नै कम्युनिष्ट पार्टीभित्रका धमिराले नै यसको इञ्जिन स्वाहा पार्नेछन् । मुखियाहरूमा आलोचना खप्ने क्षमता कटौती हुँदै गएपछि असफलताका दिन धेरै टाढा हुँदैन । नेपालको इतिहासमा राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाललाई समयले राजनेता हुने मौका दिएको थियो । तर तीनैजना पात्र रानो मौरी हुने अवसर छोप्न नसक्दा बारुलोमा सीमित भए । गिरिजाप्रसाद र प्रचण्ड त इमान्दारीपूर्वक भन्दा राजनीतिक डनमा सीमित भए ।
बामदेवलाई संसदमा टेकाउन पाए राजनीति दाउ सबै आफ्नो हातमा आउँछ भन्ने विश्वासमा परेको प्रचण्ड–माधव गठबन्धनका लागि त्यो एजेण्डा थाल खाऊँ कि भात खाउँजस्तो भयो । बामदेव कार्ड प्रयोग गरेर प्रधानमन्त्रीले दर्जनौं लहडी निर्णय भ्याइसकेका छन् ।

यिनीहरूको प्रश्न सोध्ने तागत हराएको छ । बामदेव स्वयं सपथ लिने समयसम्म पुग्दा भुत्ला खुइल्याएको कुखुराजस्तो भएका छन् । एमसीसीदेखि मट्टितेल, भट्टीतेल जुनसुकैको सीसी प्रचण्डका लागि गंगाजल सावित हुनेछ । विरोधका अर्को अध्याय शुरु भएमा भएको बर्दी खोसिने मात्र नभई कानुनको एउटा काउसो भिराएर अपराधी करार हुनुपर्ने त्रासले उनको आधा सातो उडिसकेको छ । प्रचण्डका छायाँ कृष्णबहादुर महराको पतन यही श्रृंखलाको पूर्वाभ्यास हो ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै अंगका घोषित, अघोषित प्रमुख प्रधानमन्त्री ओली हुन् भन्ने नर्सरी पढेको बालकलाई पनि थाहा छ । यहुदी भएकै नाममा विश्वकै ब्रेन मानिने आइन्स्टाइन जर्मनीबाट लखेटिए । त्यो विराट मस्तिष्कले आर्जिएको सम्पत्ति सित्तैमा बेलायतले विना लगानी आर्जन ग¥यो । आइन्स्टाइनलाई लखेटेका दिन जर्मनले भनेका थिए– ‘आज जर्मनी विश्वयुद्धमा हारेको दिन हो ।’ सत्ता, शक्ति र द्रव्यबाट आर्जित उर्जाबाट मान्छेले सर्वप्रथम गुमाउने भनेकै विवेक हो । पानीको छाल पनि आफ्नो अधिनमा हुनुपर्छ भन्ने उसको भित्री चाहना हुन्छ । जनतायोग्य आफू नभएर आफू योग्य जनता हुनुपर्ने अहंले घर गर्दै जान्छ ।

केपी ओलीको आँखाले अहिले देशमा रामराज्य देखेको छ । आफूले निर्देशन दिएपछि भ्रष्टाचार छूमन्तर भएको भ्रम छ । भित्तामा भ्रष्टाचारविरोधी नारा लेखेपछि सुशासनको बाढी आएको तर्क कुतर्क शुरु भइसकेको छ । यही कर्मचारीतन्त्रले राजा ज्ञानेन्द्रलाई फुक्र्याएर टीभीमा समाचार पढ्ने अवस्थामा पु¥यायो । लोकमानसिंह प्रवृत्तिलाई सबै दलले जन्तर मानेर ग्रहण गर्दै गए । व्यक्तिले भ्रष्टाचार गर्छ गर्दैन त्यो कुनै सवाल हैन, उसका वरिपरी कस्ता मानिसको उपस्थिति छ, त्यो मुख्य कारक हो । त्यसैले नेपालका सरकारी पदाधिकारीहरूले आदर्शका क्विन्टल भाषण गर्नुभन्दा यथार्थको एक पाउ बाँडिदिए कल्याण हुनेछ ।

कम्तिमा भाषण लिखित गर्ने परिपाटी बसालिदिनुस् । जिन्दगीभर सामन्तवादको विरोध गर्नुभयो तर विशुद्ध सामन्तवाद सरकारी प्रणालीमा छ भनेर कहिल्यै आत्मसात गर्नुभएन । त्यहाँभित्रको रसरमाइलोमा चिप्लिएर दिन गएको कसैले पत्तै पाएन । त्यहाँ पुगेपछि अखिल, नेविसंघ, वाइसीएलको ठाउँ सेना, पुलिस, सशस्त्रले लिए । आपैंmले आपैंmलाई ठूलो बनाएको कानुनको धारा पढेर जथाभावी निर्देशन तर त्यो पालना गर्ने पियन, मुखिया, खरिदारलाई सन्काएर आफ्नो बुई चढाएको बिर्सनुभयो । लोभी, पापी र आपूm अनुकूलका मानिस जम्मा गरेर दुई चारदिन रमाइलो त होला तर त्यसले कीर्तिमानी बन्न सकिँदैन । एउटा जाबो रेसमी किरोले त वर्षौंसम्म मानिसको शरीर सुरक्षा गरेर कीर्ति कायम गर्छ भने विवेकवान मानिसले के गर्न सक्दैन ? सिंहदरबारमा जानेहरू रंगहीन, ढंगहीन भएर खुइलिएर जानुको रहस्य यही हो । इतिहास पढ्ने हो । सुधार्ने त वर्तमान हो ।
जनआस्थाबाट


सम्बन्धित शिषर्कहरु