विष्णुमती सफाइ अभियानको ३१४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा त्यस वरपरका पाँच टोलका मानिसलाई ५०० वटा गुर्जोको बिरुवा घर घरमा रोप्न हस्तान्तरण गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । विष्णुमती किनारका बस्तीमा रोप्न पनि गुर्जो वितरण अभियानकर्मी राजलवटले नै बिरुवा हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, अभियानकर्मी राजलवट र पाण्डे, वडा नं। १० का अध्यक्ष अमृत थापा, पातञ्जल योग समिति वाग्मती प्रदेशका अध्यक्ष सुवर्णलाल चित्रकार, काठमाडौँ जिल्ला अध्यक्ष ऋषि लोहनीलगायतले गुर्जोको उपयोगिताका विषयमा प्रकाश पार्नुभएको थियो ।

आलोकनगर सफाइको १८४औँ हप्तामा केही बेर सफाइ गरी गुर्जोको बेर्ना बाँड्नुका साथै बगैँचाका रुख बिरुवा गोडमेल गरिएको अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिनुभयो । उत्तरी खण्डको चक्रपथ सफाइको १८४औँ हप्तामा त्यस क्षेत्रमा पहिलेभन्दा धेरै फोहर भेटिएको अभियानले जनाएको छ । कोरोनाको महामारी फैलिए पनि मानिसमा सफाइप्रतिको सचेतना नबढेको पाइएको संयोजक लोकबहादुर टण्डनले जानकारी दिनुभयो । फोहरले कोरोनालगायत अन्य रोगव्याधि पनि बढ्ने भएकाले सचेत हुन उहाँले आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !