
काठमाडौं । केही दिनदेखि यता सामाजिक संञ्जामा एउटा हल्ला थपिएको छ, प्रचण्ड र माधव नेपाल मिलेर अविश्वासको प्रस्ताव ल्याउने र प्रधानमन्त्री ओलीलाई हटाउने । यस्तै हल्लालाई टिपेर केही ओली निकट पत्रकारहरु नै बडेमानको शीर्षकमा समाचार बनाउने र फेसबुकमा सेयर गर्ने गरेका छन् ।
यस्तो हुदै नभएको हल्लालाई किन समाचार बनाइरहेका छन् । एकजना केन्द्रीय सदस्य भन्छन ः यो एउटा गजवको खेती हो, जसबाट केही पनि हात लाग्दैन । आत्मरतिको लागि गरिएको मात्र हो । नेकपाका केही नेता समस्या समाधानमा लागिरहेका बेला ओली निकटकै केही सल्लाहकार र केही नेताहरु भने स्थितिलाई थप बिगार्न राजनीतिक प्रचारबाजीमा उत्रिएका छन् । त्यसका लागि उनीहरुले ओलीविरुद्ध प्रचण्ड–नेपाल मिलेर अविश्वास प्रस्ताव ल्याउने तयारीमा लागेको झुटो प्रचार गर्न थालेका हुन् ।
‘अविश्वास प्रस्ताव ल्याउने भन्ने कुरा कल्पना समेत गरिएको छैन । त्यो भ्रम कसले र किन गराएको छ, बुझ्न सकिएको छैन,’ एक स्थायी समिति सदस्य भन्छन्, ‘स्वार्थ पुरा गर्न खोज्नेहरुले चलाएको एउटा गजवको पढिने हल्ला मात्र हो ।’ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि अविश्वास प्रस्ताबारे चलाइएको हल्लामा कुनै सत्यता नरहेकोे बताए ।
दुई अध्यक्षबीच दुरी बढेको बेला स्वार्थसिद्ध गर्न पल्केका केही सीमित तत्वहरु नेताहरुबीचको दुरी घट्न नदिन विभिन्न स्टन्टबाजी गर्न लागिपरेको सो पार्टीकै शीर्ष नेताहरु बताउँछन् । पछिल्लो समय कथितरुपमा प्रधानमन्त्री ओलीविरुद्ध ल्याउन लागिएको भनिएको ‘अविश्वासको प्रस्ताव’ लाई नेकपाको एकता चाहने नेता–कार्यकर्ताहरुले त्यही सीमित स्वार्थी समूहले आफ्नै स्वार्थअनुरुप चलाएको ‘स्टन्टबाजी’ मात्र हो ।