काठमाडौं । लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले अर्को नयाँ कामको थालनी पनि गर्ने भएको छ । केही समय अघि मात्रै आफ्नो स्थापनाको ११ वर्ष पूरा गरेको मिडियाले सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई बेला बेलामा सम्मान गर्दै उनीहरुको कामलाई अझै हौसला प्रदान गर्दै आएको छ ।

मिडिया स्थापना भएको अवसर पारेर आगामी २०७७ साल मंसिरमा काठमाडौंमा ‘नेशनल सोसल वयलफेयर अवार्ड २०२०’ सम्मान कार्यक्रम आयोजना गर्न लागेको सिजन मिडियाले जनाएको छ । कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिने छ । विशेष गरी कोभिड १९ को विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्थालाई यस पटक विशेष सम्मान गर्न लागिएको हो ।

विपदको समयमा सानो भन्दा सानो सहयोगले पनि ठूलो समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरुले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले सम्मान गरी उनीहरुको काम गर्ने सोच र सामाजिक दायित्वलाई बढावा दिन लागिएको छ । यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील अन्य व्यक्तित्व तथा संस्थालाई समेत हामी यस पटक सम्मानको सानो सगुन प्रदान गर्न लागेको सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले बताए ।

‘सबै नागरिकमा सामाजिक भावना जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’ वन्तले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ । उनले सम्मानका लागि संसथाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनौट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मानित गरिने बताए ।

प्रतिक्रिया दिनुहोस !