इटहरी : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुरमा आर्थिक शोषण र नश्लवाद चरम अवस्थामा रहेको गुनासो । भोजपुरबाट प्राप्त समाचारअनुसार त्यहाँको जेलमा आउने हरेक कैदीबन्दीबाट जनही ७४५ रुपैयाँ असुल गरिन्छ र त्यसबापत भन्दै एक सेट साबुन, ब्रस, मञ्जन र ढाकाटोपी भिराइन्छ ।
दुई सय रुपैयाँ पनि नपर्ने कवाडी सामान जबर्जस्ती थोपरेर जनही ७४५ रुपैयाँको दरले कैदीबन्दीबाट लाखौं जम्मा गरी जेलर र प्रहरी तथा नाइकेहरुको कमाउधन्दा चलिरहेको छ ।

त्यसैगरी एउटा समुदायको पोशाक र पञ्चायती व्यवस्थाको राष्ट्रिय पोशाक ढाकाटोपी लगाउन बाध्य पारिएको छ । नेपालको संविधान २०७४ ले एउटा जातिको भाषा, भेष, संस्कृति अर्को जातिमा थोपर्नुलाई नश्लभेद मानेको छ र त्यसो गर्नु गैरकानुनी ठहर्छ । त्यसरी भोजपुर कारागारमा ढाकाटोपीवाला मण्डले राष्ट्रवाद यथावत रहेको छ । त्यस प्रकारको आर्थिक र नश्लवादको अनुगमन गर्न प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समिति र राष्ट्रिय मानवअधिकार आयोगको ध्यान जान आवश्यक रहेको कतिपय एनजिओकर्मीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !