काठमाडौं । ‘कर्मचारीलाई बिदा दिएर सेवाग्राहीका काम थपिने मात्रै हो । असन, इन्द्रचोकमा भीडभाड भएकै छ । अफिसमात्रै बन्द गरेर के हुन्छ ?’
सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण व्यवस्थापन उच्चस्तरीय कार्यदल (सिसिएमसी) ले पर्सि कात्तिक १ गतेदेखि उपत्यकामा लकडाउनसरहको व्यवस्था गर्न सबै कार्यालयलाई दशैंका नाममा घटस्थापनादेखि नै बिदा दिने प्रस्ताव लग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले माथिका भनाइ राख्दै अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्रीको चाहना थियो, सकभर दशैं मान्ने नाममा काठमाडौंबाट मानिसहरु देशका विभिन्न भागमा नजाउन् । काठमाडौंमा भयावह बनेको कोभिड संक्रमण फैलिएर दूरदराज गाउँहरु प्रभावित भएमा त्यसले निम्त्याउने स्थिति झन् कहालिलाग्दो हुने उहाँको धारणा थियो । बरु, काठमाडौं छिर्ने र भारतीय सीमा नाकाहरुमा कडाइ गर्नुपर्ने कुरालाई निरन्तरता दिऔँ भन्नेमा जोड रह्यो ।

बरु, सिसिएमसीको पछिल्लो बैठकमा स्वास्थ्य मन्त्रालयले दिनको ९० हजारसम्म संक्रमित व्यक्ति पुग्नसक्ने डरलाग्दो आँकडा पेश गरेको छ । इटालीको जस्तो भयावह अवस्था नेपालका निम्ति टाढा नभएको भन्दै देशभर कम्तिमा पनि पाँच लाखसम्म संक्रमित पुग्ने अनुमान पेश भएको थियो । त्यसमाथि हाम्रो काम गराई नै कतिसम्म उल्टो छ भने, तीन महिना लगातारको लकडाउनमा स्वास्थ्य पूर्वाधारका कुनै काम भएनन् । अहिले काठमाडौंमा महामारी फैलिएपछि भएभरका सरकारी अस्पताललाई कोभिडका रुपमा कायम गर्न निर्देशन जारी भएको छ । जबकि, अस्पतालहरुमा उपकण अभाव शुरु भइसकेको धेरै भएको छ ।
विश्व स्वास्थ्य संगठनमा दोस्रो वरियताका हाकिम डा.नभारोले भनेकै छन्, ‘लकडाउन भनेको तयारीको लागि हो, उपचारका लागि होइन ।’ उनका अनुसार, कोरोनाको कारण विश्वमा गरिबको संख्या दोब्बर पुग्नेछ ।

सोमबारको मन्त्रिपरिषद्मा कोभिड संक्रमणबाट छिट्टै पूर्ववत् अवस्थामा फर्किएका पर्यटनमन्त्री योगेश भट्टराई सहभागी भएनन् । उनको कोभिड परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि केही दिन घरमै आराम गरिरहेका छन् । कोभिड देखिएकै कारण अस्पतालमा उपचार गराइरहेका शिक्षामन्त्री गिरिराजमणि पौडेल पनि सोमबारको बैठकमा गएनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी अहिले अस्पतालमा छन् । उनी कोभिड संक्रमित भएका छैनन्, पेटको समस्याका कारण अस्पताल गएका हुन् ।

प्रतिक्रिया दिनुहोस !