इलाम : कोरोना भाइरस संक्रमणयता स्थानीय सरकारले गरेका प्रयासप्रति नागरिकको असन्तुष्टि चुलिँदो छ । तर, संक्रमण नियन्त्रणको नाममा ४ महिनामा मात्र इलामका १० स्थानीय तहले झण्डै ५४ करोड खर्च गरेका छन् । ०७६ चैतदेखि ०७७ असारसम्म यहाँका स्थानीय तहले राहत, स्वास्थ्य सामग्री, क्वारेन्टिन व्यवस्थापनदेखि यातायात र अतिरिक्त भत्तामा ५३ करोड ९२ लाख ६ हजार सात सय ११ रुपैयाँ खर्च गरेको पाइएको छ । क्वारेन्टाइन सञ्चालनका बेला गुणस्तरहीन खाना र बस्ने व्यवस्था गरेको गुनासो आइरहे पनि यो शीर्षकमा समेत ठूलो रकम खर्च भएको देखिन्छ ।

संक्रमण नियन्त्रणको नाममा सबैभन्दा बढी खर्च इलाम नगरपालिकाले गरेको छ । अहिलेसम्म ५७ जना संक्रमित देखिएको इलाम नगरपालिकाले ४ महिनामा मात्र ७६ लाख ५ हजार ६ सय २१ रुपैयाँ खर्च गरेको छ । इलाम नगरपालिकाले लकडाउनको अवधिमा २५ सय ५६ घरधुरीलाई राहत वितरण गरेको थियो । त्यसपछि हालसम्म १५ जना संक्रमित देखिएको सूर्योदय नगरपालिकाले दोस्रो बढी ७५ लाख ६६ हजार ७०८ रुपैयाँ खर्च गरेको छ ।

सबैभन्दा थोरै खर्च भने फाकफोकथुम गाउँपालिकाले गरेको छ । सो पालिकाले २६ लाख ८६ हजार ५ सय ४९ रुपैयाँ सकेको हो । तर, क्वारेन्टाइनको बेड संख्या एक सय तीन वटा मात्र छ भने ४ महिनामा यति रकम खर्च गरेको पालिकामा ६ महिनासम्म पनि ४० जना मात्र क्वारेन्टाइनमा बसेको देखिन्छ । यो गाउँपालिकामा हालसम्म एक जना पनि संक्रमित छैनन् । ६ जना संक्रमित देखिएको माई नगरपालिकाले भने ६७ लाख ३ हजार ३० रुपैयाँ खर्च गरेको देखिन्छ । यसरी नै माइजोगमाई गाउँपालिकाले २८ लाख ९२ हजार ६१० रुपैयाँ खर्च गरेको छ । तीन जना संक्रमित देखिएको रोङ गाउँपालिकाले ४५ लाख ९८ हजार २ सय ४० रुपैयाँ खपत गरेको छ ।

एक जना संक्रमित देखिएको चुलाचुली गाउँपालिकाले ५४ लाख ४२ हजार रुपैयाँ खर्च गरेको छ । आठ जना संक्रमित देखिएको सन्दकपुर गाउँपालिकाले ४७ लाख ३७ हजार ६ सय ५४ रुपैयाँ खर्च गरेको छ । चार जना संक्रमित देखिएको देउमाई नगरपालिकाले भने ५८ लाख ४७ हजार ६५३ रुपैयाँ खर्च गरेको छ । देउमाईले २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । इलामका १० स्थानीय तहले लकडाउनको बेला ११ हजार सात २६ परिवारलाई राहत वितरण गरेका थिए । इलाममा ९५ जना संक्रमित भएर सबै निको भइसकेका छन् ।
– सटेन्द्र जबेगु

प्रतिक्रिया दिनुहोस !