
काठमाडौं : उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखिलागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा प्रवाह स्थगित गरिएको छ’, जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरले जारी गरेको सूचनामा भनिएको छ ।