कात्तिक : विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ ।
उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको बताइएको छ ।

महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने बताउनुभएको हो । शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।

गेब्रेयसले भन्नुभयो– कतिपय नर्दन हेम्सफियरका देशहरुमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ । विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थामा छौँ भन्नुभएको छ ।

हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको थियो ।

विश्वका देशहरुले सीमा बन्द गरेका कारण नागरिकको एक ठाउँबाट अर्काे ठाउँमा आवत जावतमा समेत ठूलो समस्या भइरहेको भन्दै सुरक्षाका मापदण्डहरु अपनाएर यी समस्याको समाधान निकाल्न महासचिव गुटर्रेसले आग्रह गर्नुभएको थियो ।

महासचिव गुटर्रेसले विश्वमा अहिले पनि बढ्दो रुपमा नै देखिएको कोरोना महामारीको समस्याबाट विश्वभर नै आर्थिक मन्दीको अवस्था आउनसक्ने भएकोले त्यस विषयमा सोच्न आग्रह गरेको केही समयपछि यता विश्व स्वास्थ्य संगठनका महानिर्देशकको यो चेतावनी आएको बताइएको छ

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका छन् ।

केही अस्पतालहरुमा सङ्क्रमितहरुको संख्या अत्यधिक भएको र उनीहरुकोमा त्यो संख्या पनि अहिलेसम्मकै धेरै भएको जनाइएको छ । अमेरिकामा शुक्रवार ८३ हजार भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्का छ । तर मृत्यु दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।

विभिन्न निकायहरुले दिएको विवरण अनुसार अमेरिकामा कोरोनाभाइरसको महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन् ।यस अघि एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित गत जुलाई १७ मा भएका थिए । त्यो दिन ७६ हजार ८ सय ४२ रहेकोमा अहिले झण्डै ६ हजारले बढी भएको देखिएको छ ।

त्यसैगरी साप्ताहिक विवरण हेर्दा पनि गत एक हप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा सङ्क्रमित भएका छन् । यो सङ्ख्या पनि जुलाई यताको सबभन्दा धेरै भएको जनाइएको छ। तर मृत्यु भएकाहरुको सङ्ख्या भने गत अप्रिलको भन्दा कम नै रहेको छ । अप्रिलमा दैनिक दुई हजारको मृत्यु भएको थियो ।

पछिल्ला केही दिनदेखि सङ्क्रमितहरुको संख्यामा बृद्धि भएसँगै अस्पताल भर्ना हुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

कतिपय देशहरुमा पछिल्लो समयमा फेरी सङ्क्रमितहरुको संख्या बढ्न थालेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि अमेरिकासहितका कतिपय मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम अत्यन्त धेरै रहेको र ती क्षेत्रको अवस्था कठिन रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
––––रासस÷एपी)

प्रतिक्रिया दिनुहोस !