पेरिस : पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ५० जनाभन्दा बढी लडाकू मारिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाउनु भएको छ ।

उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिनुभयो । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो ।

यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका एक अधिकारीले बताएका छन् ।

फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गर्नु भएको छ । उहाँले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्ता गर्नु भएको थियो । गत अगष्टमा सैनिक बलमा तत्कालीन राष्ट्रपतिलाई अपदस्थ गरिएयता माली भ्रमणमा पुग्नु भएकी रक्षामन्त्री पार्लीले जतिसक्दो चाँडो निर्वाचन गर्न पनि संक्रमणकालीन सरकार समक्ष आग्रह गर्नु भएको छ ।

मालीमा विद्रोहीलाई नियन्त्रणमा ल्याउन हजारौं फ्रान्सेली सैनिक तैनाथ छन् । सन् २०१३ मा फ्रान्सले गरेको सैनिक कारबाहीबाट इस्लामिक अतिवादी विद्रोहीलाई सत्ताच्यूत भएको थियो । (रासस–एपी)

प्रतिक्रिया दिनुहोस !