काठमाडौं । कुरा सानो भनेर के गर्नु, प्रधानमन्त्री बालुवाटार बसेरै सिंहदरबारको घुनपुत्लो केलाउनमा खप्पिस भएपछि । यस्तै देखियो केही समयअघिको मन्त्रिपरिषद् बैठकमा । उहाँले भन्नुभयो, ‘कुलमान घिसिङलाई विद्युतमा नियुक्त हुन दिएन भन्ने बाहिर होहल्ला गराएर, त्यसको तीर–निशानाचाहिँ आफ्नो मन्त्रालयको सचिवालयबाट वक्तव्य जारी गराएर मतिर सोझ्याउने ?’

यो प्रहार थियो, उर्जामन्त्री वर्षमान पुनलाई । प्रधानमन्त्रीले यसरी ठाडै टिप्पा दिएपछि वर्षमान लल्याकलुलुक नहुने कुरै भएन । उनको जवाफ थियो, ‘मैले जवाफ दिँदादिँदा थेग्न सकिन सम्माननीयज्यू । प्रस्ताव त पठाएकै थिएँ नि † हजुरलाई जो उपयुक्त लाग्छ, उसैलाई नियुक्त गरे पनि भयो । तर, यति लामो समय त्यो ठाउँ खालि राख्न भएन ।’

प्रधानमन्त्रीको जवाफ थियो, ‘बनाउनु भएकै छ नि ! एउटा जुनियरलाई निमित्त दिएर राख्नुभएकै छ । चलोस् न त यसैगरी । हेरौँ न, कति दिन चल्दो रहेछ †’
यो गलफत्ति थियो, नेपाल विद्युत प्राधिकरणबारे । प्राधिकरणको विनियमावलीमा कार्यकारी निर्देशक, अध्यक्ष वा प्रवन्ध निर्देशकको पद रिक्त भयो भने वरिष्ठतम्मध्येलाई कायममुकाय मुकर्रर गर्न पाइने उल्लेख छ ।

कुलमान घिसिङको पदावधि समाप्त भएपछि त्यहाँका सेकेण्डम्यान बाहिर कतै अर्को परियोजनामा कार्यरत हुँदा उनीभन्दा कनिष्ठ व्यक्तिलाई कामु कार्यकारी निर्देशक दिइएको छ । यी सबै कुराको सूक्ष्म सूचना पनि प्रधानमन्त्रीले राख्ने गर्नुभएको रहेछ भन्ने कुराको खुलासा मन्त्रिपरिषद्को उक्त बैठकमा भएको हो ।

प्रतिक्रिया दिनुहोस !