
अमेरिकी निर्वाचन कानुनअनुसार ५३८ इलेक्टोरल कलेज भोटमध्ये बहुमतको लागि आवश्यकभन्दा बढी अर्थात् २८४ पुर्याएपछि बाइडेन अमेरिकाको ४६औं राष्ट्रपति बन्न बाटो खुलेको छ । सीएनएनका अनुसार पछिल्लो दुई दिनदेखि गणना भएका पेन्सिलभानिया, जर्जिया, विस्कन्सन र एरिजोना राज्यको मतगणनामध्ये पेन्सिलभानियाको २० इलेक्टोरल कलेज भोट प्राप्त गरेपछि उनी राष्ट्रपति बन्ने निश्चित भएको हो ।
नयाँ राष्ट्रपतिले आगामी जनवरी २० का दिन ह्वाइट हाउसमा आयोजना हुने विशेष समारोहमा शपथ ग्रहण गरेपछि पदभार सम्हाल्ने संवैधानिक व्यवस्था छ । बाइडेनको जीतसँगै उपराष्ट्रपति घोषित कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति हुने भएकी छिन् । उनकी आमा भारतीय मूलकी हुन् भने बाबु आप्रवासी जमैकन हुन् ।
राष्ट्रपति बन्नका लागि बाइडेनले यसअघि नै दुुईपटक असफल प्रयास गरेका थिए – १९८८ को राष्ट्रपतिय निर्वाचनका लागि दाबी पेश गर्दा धेरैले उनलाई अन्य डेमोक्रेटको दाँजोमा फरक उम्मेदवार ठानेका थिए, उनको युवा जोश र भाषण कलाले धेरेलाई लोभ्याएको पनि थियो । तर, निर्वाचन अभियानताका बेलायती लेबर पार्टीका नेता निल किन्नकको भाषण बङ्ग्याएर आफ्नो जसरी पेश गरेको आरोप लागेपछि गल्ती स्वीकार्दै उनले उम्मेदवारी फिर्ता लिए ।