कम्युनिष्टको त्यो कलह र यो कलह : ३८ वर्षअघि जस्तो, अहिले पनि त्यस्तै

काठमाडौँ : कोही–कोही नेताका कुराको लय कस्तो भने, ३८ वर्षअघि जस्तो, अहिले पनि त्यस्तै । प्रसंग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको हो ।
सत्तारुढ नेकपाभित्र ९ महिनादेखि चर्किंदै आएको विवादका क्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट अर्का अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, वामदेव गौतम, भीम रावलहरूका अनेक–अनेक अभिव्यक्ति आए । तर, शुरुदेखि अहिलेसम्म पनि माधव नेपालले एउटै कुरा भनिरहनुभएको छ, ‘प्रधानमन्त्री हटाएर हैन राखेरै, उनलाई सच्याएर जाऔँ ।’ जबकि, अरु नेताले यसबीच राजीनामाको मागदेखि अविश्वासको प्रस्ताव हुँदै संसदीय दलको नेताबाट हटाउनुपर्नेसम्मका अडान राख्दै आएका छन् । तर, माधव नेपाल भन्दै हुनुहुन्छ, ‘हैन, विधि र पद्धति स्थापित गर्ने कुरा गरौँ ।’ उहाँको यही अडानका कारण फागुनमै प्रधानमन्त्रीलाई पदच्युत गर्ने विधितिर गइसकेको यो झगडा त्यो तहमा पुग्न पाएको छैन । अहिले पनि माधवको अडान त्यही नै छ । यो कुरा यतिबेला स्मरणीय हुनुको एउटा सन्दर्भ छ, ३८ वर्षअघिको ।

२०३९ सालमा सिन्धुली जिल्लाको कुनै ग्रामीण बस्तीमा तत्कालिन नेकपा मालेको सातौं केन्द्रीय कमिटी बैठक र त्यो बैठकअघिबाटै चर्किएको अन्तरसंघर्षमा माधवको भूमिका यस्तै थियो । त्यसबेला महासचिव हुनुहुन्थ्यो, सीपी मैनाली । मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल र झलनाथ पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो भने अमृत बोहोरा, नेत्रलाल शर्मा (अभागी), मोदनाथ प्रश्रित (जेलमा), वामदेव गौतम, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, ईश्वर पोखरेलहरू केन्द्रीय सदस्य । ०३७ सालको जनमतसंग्रहपछि उपयोग या बहिष्कार गर्नेदेखि अनेक प्रकारका तुष बढ्दै गएपछि यीमध्ये सबै नेता उहाँलाई पदच्युत गर्नुपर्ने कठोर निर्णयमा पुगिसकेका थिए । तर, माधवचाहिँ सीपीलाई गलहत्याएर समाधान हुँदैन भन्नेमा अडिग हुनुभयो ।

जबकि, उहाँ सीपी पक्षधर वा उहाँको बचावमा हुनुहुन्थेन । उहाँको भनाइ थियो– ‘राजीनामा दिन्छु भन्नुभएकै छ । किन कारवाही गरेर निकाल्ने ? राजीनामा दिन्छु भनिसकेपछि पर्खौं न…†’ तर, त्यसबेलाको सीपी अहिलेको केपीजस्तै † बैठक सामना गर्नै नचाहने । बैठक बसिहाले पनि ‘भड्याङ–भुडुङ’ गरेर कुरा अन्तै मोड्ने । माइन्युट फ्याँकेर घुर्की देखाउने † त्यसमाथि माधवले नै ‘पर्खौँ न’ भनेपछि दृष्टिविहीनले आँखो पाएजस्तो † तर, त्यसबेला जीवराज र मदनको अडानका कारण माधवको सदाशयता लामो समय टिक्न पाएन । त्यही बैठकमा सीपी आफूले आफैँलाई कारवाही गरेको माइन्युट तयार पारियो । सीपी आफ्नो हातबाट आफ्नै महासचिव पद सिध्याउन बाध्य हुनुभयो ।

उतिबेला मदन भण्डारीको उदाउँदो सांगठानिक क्रियाशीलता र पार्टीभित्र बढ्दो प्रभावका कारण उहाँले भनिसकेपछि माधवले फेरि केही बोल्नुभएन । तर, यतिबेला माधवले ‘लौ न त लौ’ भनेर प्रचण्ड, झलनाथहरूको लयमा जानुभयो भने केपी ०३९ को सीपी बन्नुहुने खतरा टड्कारो छ । त्यसबेला सीपीलाई कारवाही गर्नासाथ मदनलाई महासचिव बनाउनुपर्ने केहीकेहीको प्रस्ताव थियो । तर, मदनले भन्नुभयो, ‘यो झापालीहरूले बनाएको पार्टीबाट सीपीलाई हटाएपछि भोलि उहाँले झापालीलाई देखिसहेनन् भनेर प्रचार गर्नुहोला ।

त्यसकारण झापाबाटै खोजौँ ।’ त्यसबेला भोजपुरबाट झरेर झापा बसाइँ थालेका मुकुन्द न्यौपाने केन्द्रीय सदस्य हुनुहुन्थ्यो । तर, पोलिट्व्युरो हुँदाहुँदै केन्द्रीय सदस्यबाट महासचिवमा नलगौँ भन्ने कुरा भयो । यसपछि झलनाथ खनालको प्रस्ताव माधवले नै राख्नुभयो । किनभने, उहाँ झापा आन्दोलनबाटै आएको र भूगोलका हिसाबले पनि जोडिएको (इलामको) मान्छे । झलनाथले महासचिवका रुपमा पाँच वर्षको कार्यकाल पूरा गरेपछि ०४६ सालमा सिराहामा सम्पन्न चौथो महाधिवेशनबाट बल्ल मदन भण्डारी महासचिव बनाइनुभयो । सीपीलाई ‘सुट वारेण्ट’, अर्थात् जहाँ भेट्यो त्यहीं मार्ने सरकारी उर्दी थियो । उहाँलाई देशभित्र राख्नु भनेको मार्नुसरहको काम हुन्थ्यो । यसकारण सिन्धुली बैठकले नै उहाँलाई भारत प्रवासको जिम्मेवारी दियो, मुकुन्द न्यौपाने पूर्वबाट मध्यमाञ्चल हेर्ने गरी बारा–पर्सातिर लाग्नुभयो ।

यो घटनाले भन्छ– नेतृत्वप्रति सामूहिक रुपमा गरिएको विरोध वा प्रतिवादमा व्यक्तिप्रति सदाशयता हुनसक्छ । तर, निर्ममताका साथ समयमै एउटा निर्णयमा पुगिएन भने पार्टी काम ठप्प हुन्छ । अहिले नेकपाको सांगठानिक काम शून्यस्थितिमा छ । देशभर नामका पार्टी कमिटी छन्, तर ‘अहिले पार्टी फुट्ला कि भोलि फुट्ला’ भन्ने मनोविज्ञानले घर गर्दा कोही काम गर्ने मनस्थितिमा छैनन् । अनि, योसँगै अर्को प्रेरणादायी प्रसंग छ– त्यागको । मदनको अगुवाईमा सीपी कारवाहीमा पर्नुभयो । तर, त्यसपछिको महासचिव मदनले स्वीकार्नुभएन । किनभने, पार्टी नेतृत्वमा योग्यता र क्षमता पुगेका मान्छे हेरेर मात्र हुँदैन । त्यसलाई देश, काल र परिस्थितिले कसरी हेर्छ भन्ने कुरा सबभन्दा पहिला ख्याल गरिनुपर्छ । त्यस्तो निर्णय क्षमता र त्याग अहिलेको नेकपा विवादमा प्रकट होला त ?


सम्बन्धित शिषर्कहरु